जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन सक्दैन’
चितवन : नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताएका छन्। मंगलबार नवलपरासीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौँ फर्किने क्रममा पत्रकारसँग कुरा गर्दै उनले पार्टीको बैठकले यसबारे निर्णय नगरेको र छलफल भएको जानकारी पनि नभएको स्पष्ट गरे। जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन नसक्ने भन्दै उनले पहाड र तराई छुट्याउन हुन्छ वा हुँदैन भन्ने विषयमा आवश्यक गृहकार्य नगरी सरकारले प्रस्ताव दर्ता गरेकाले अहिले समस्या उत्पन्न भएको बताए । महामन्त्री डा कोइरालाले भने–‘प्रस्ताव दर्ता गर्नुअघि बृहत् छलफल गर्नुपथ्र्यो, त्यो हुन सकेन।’ उनले ठूला तीन दल, राप्रपासहित मधेसकेन्द्रित दलबीचमा सहमति हुन नसके संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने सुझाव दिए। ठूलो दलको हिसाबले अहिलेको जिम्मेवारी काँग्रेसको भएकाले सबै दललाई मिलाएर लैजानुपर्ने बताए। अहिलेको मुख्य चुनौती संविधान कार्यान्वयन नै भएको बताउँदै डा कोइरालाले भने–‘सबै पार्टी मिलेर निकास खोज्नुपर्छ, त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ।’
प्रतिक्रिया