छलफलमा आउनुहोस्, सबै मिलेर निकास खोजौं : सिंह
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधन प्रस्ताव दर्तासँगै आएका असन्तुष्टिलाई छलफलबाट निकास दिन सकिने बताएका छन् । प्रमुख राजनीतिक शक्तिहरु मिलेर नै जारी संकट समाधान गर्नुपर्नेमा उनको जोड थियो । नेपाल प्रेस युनियन दोलखा शाखाले आज चरिकोटमा गरेको पत्रकार भेटघाट कार्यक्रममा संशोधन प्रस्तावमा आवश्यक संशोधन गरेर भए पनि पारित गर्न सकिने भन्दै उनले एमालेलाई सहमतिमा आउनआग्रह गरेका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदन अवरोधभन्दा पनि राजनीतिक निकास दिनतिर लाग्नुपर्ने उनले बताए।
मधेस केन्द्रित दलहरुका जायज माग पूरा गरेर अघि बढ्ने समझदारी भएकाले निर्वाचनको वातावरणकै लागि सरकारले प्रस्ताव दर्ता गरेको बताउँदै उनले मुलुक गम्भीर राजनीतिक मोडमा पुगेकाले संकटको समाधानबाट कोही पनि पन्छिन नमिल्ने बताए। कार्यक्रममा फरक पंसंगमा बोल्दै उनले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव प्रक्रियामा अगाडि बढिसकेकाले कांग्रेसले विधि प्रक्रिया पूरा गरेर उपयुक्त निर्णय लिने जानकारी गराए ।
प्रतिक्रिया