सुजाताका नाममा यसरी भयो ‘गोयबल्स’ प्रचार

sujata buda paka sagaकाठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको उपचार खर्चलाई लिएर विपक्षी दलहरूले विरोध गर्नु स्वभाविक नै हो । विरोध हुनुलाई कसैले अन्यथा लिनु पनि हुँदैन । तर, कांग्रेसभित्रै विरोध भएकोमा भने कतिपय नेताहरूले आश्चर्य मानेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालदेखि थुप्रै केन्द्रीय नेताहरूले उपचार खर्चका नाममा सरकारी ढुकुटीबाट रकम लिएका छन् । उनीहरूले उपचार खर्च लिँदा कसैले बिरोध गरेनन्,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ । कांग्रेस नेताहरूलाई यस विषयमा बोल्ने फुर्सदै रहेन ।

 यतिसम्म कि ओली प्रधानमन्त्री भएका बेला बालुवाटारमा खाजा खाएको, कार्यकर्ताहरूलाई बालुवाटारभित्रै भोजभतेर गरेको, गृहजिल्ला झापाका कार्यक्रमहरू बालुवाटारभित्रै गरेको कसैले विरोध गरेनन् । एमालेजनहरूको यस्ता कति ज्यादति भए कति ? तर, कांग्रेसले गर्ने कुनै पनि कुरालाई एमालेकै शैलीमा ‘गोयबल्स’ तरिकाले बिरोध गरिरहका छन् । आफू निकटका सञ्चारमाध्यममा सुजाता र कांग्रेसको धज्जी उडाई रहेका छन् । सुजाताले उपचार खर्च कति पाइन् भन्ने होइन । कुरा के हो भने सुजातालाई देखाएर एमालेले कांग्रेस र कांग्रेस कार्यकर्तामाथि तेजोबध गरिरहेको छ । यो कुरा कांग्रेसीहरूले बुझ्न सकेका छैनन् ।

 आफ्नै खर्चमा सुजाताले उपचार गर्न नसक्ने पनि होइनन् । तर, कोइराला परिवारले यो मुलुकमा कति योगदान दिएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ । वीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मले प्रजातन्त्रका लागि संघर्ष गरेका हुन् । उनीहरूकै योगदानका कारण मुलुक यो अवस्थासम्म आइपुगेको हो ।यति धेरै विरोध भएपछि सुजाता कोइरालाले पनि सरकारले दिएको पचास लाख रुपियाँ लिन्न भनेर घोषणा गर्दा केही विग्रदैन । उपचार गरेर फर्केपछि सुजाताले पचास लाख फिर्ता गर्ने छिन् भन्ने कांग्रेसी कार्यकर्ताहरूको बुझाई छ । क्यान्सरले थाल परेकी एमालेकी पूर्व सांसद शान्ता चौधरीले समेत सुजाताको विरोध गरेकी छिन् ।

 सरकारी पैसामा उपचार गरेको शान्ताले भुलेछिन् ।सुजातालाई उपचार खर्च दिने बैठकमा म थिइन भनेर स्वास्थ्यमन्त्री गगन थापाले बयान दिएका छन् । तर, त्यही कांग्रेसका कारण आफू मन्त्री भएको थापाले पनि भुलेछन् । मन्त्रिपरिषदले गर्ने निर्णयमा मेरो सहमति छैन भने मन्त्री थापाले पदबाट राजीनामा दिने हिम्मत गर्नुपर्छ । अहिले यही विषयलाई एमालेजनहरूले सामाजिक सञ्जालमा इसु बनाएका छन् । मन्त्री थापालाई उनको सचिवालले दिएको गलत सुझाव र सल्लाहका कारण उनी फस्दै गएका छन् । उनले समयमा बुझ्न सकेका छैनन् । कांग्रेस रह्यो भने गगन थापा र कांग्रेसजन रहन्छन् । ०५८ पछि धेरै समय एमाले सत्तामा बसेको छ । सत्ताबाट खस्किएपछि कस्तो हुन्छ भन्ने चाल पाएका एमालेका नेताहरू अहिले कांग्रेसलाई प्रहार गर्नेभन्दा अरु केही देख्दैनन् ।

 अहिले उपचार खर्चको विरोध गर्ने एमालेहरू सत्तामा रहेका बेला किन नियमावली बनाएनन् ? यो प्रश्न उनीहरूप्रति तेर्सिएको छ । कम्तिमा स्वास्थ्यमन्त्री थापाले उपचार खर्चको नियमावली बनाउने प्रयास गरेका छन् । यसलाई कांग्रेसले जितका रुपमा लिनु पर्छ । अहिले सुजाताले उपचार खर्च पाइन भन्ने होइन । सुजाताका नाममा कांग्रेस र कांग्रेसी कार्यकर्तामाथि भइरहेको प्रहारको प्रतिवाद गर्नुपर्छ । कांग्रेसका सांसद र नेताहरूले सुजाताको बचाउ गर्नैपर्छ । एमालेका नेताहरू नै सुविधा कटौतीको पक्षमा छैनन् । सांसदहरूको सुविधा बढाउने प्रस्तावमा एमालेका कथित राष्ट्रवादीहरूले किन विरोध गरेनन् ? एमालेभित्रको कथित राष्ट्रवाद यही लुकेको छ ।

प्रतिक्रिया

सम्बन्धित