पशुपति शम्शेरलाई मन्त्री बन्ने रहर : अध्यक्ष राजेन्द्र लिङ्देनकाे अर्कै दाउ
काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जानका लागि नयाँ अस्त्रको प्रयोग गर्न थालेका छन् । सरकारमा जाने नयाँ जुक्ति निकालेका लिङ्देनले पार्टीभित्र सामान्य छलफलसमेत गराउन थालेकाे खबर छ ।
प्रचण्ड नेतृत्वको सरकारमा प्रवेशका लागि लिङ्देनले सरकारमा गएर कांग्रेसलाई कमजोर बनाउने रणनीति लिनुपर्ने बताउने गरेका छन् ।
अहिलेको सत्ता र परिवर्तनको ठूलो घटक कांग्रेस भएकोले सरकारमा गएर कांग्रेसलाई कमजोर बनाउनुपर्ने बताएका हुन् । माओवादीसँग मिलेर कांग्रेसलाई कमजोर बनाउँदा भोलिका दिनमा राप्रपासँग सहकार्य गर्न कांग्रेस आउने र त्यसबेलामा हाम्रो हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रकाे एजेण्डामा सहमत गराउन सकिने तर्क गर्न थालेका छन् ।
स्राेत भन्छ, यो तर्कसहितको विश्लेषण गरेर लिङ्देन अहिलेको सरकारमा प्रवेश गर्न चाहेका हुन् । खासमा कांग्रेस कमजोर बनाउने रणनीतिभन्दा पनि सरकारमा प्रवेश गर्ने जुक्तिको खोजी गरेको भन्दै एकथरी भने राप्रपाभित्र उनको विरोध गरिरहेका छन् । तर, सरकारमा जान अध्यक्ष लिङ्देन र नेता पशुपति शमशेर राणा बिच लडाईं पनि सुरु भएको राप्रपा स्रोतले बताएको छ ।
स्रोतले बताए अनुसार, राणाले पनि जसरी भएपनि एकपटक मन्त्री हुनै पर्याे भनेर राप्रपाभित्र अध्यक्ष लिङ्देनप्रति असन्तुष्टि देखाइरहेका छन् ।
अहिले राप्रपाभित्रको असन्तुष्ट पक्ष र लिङ्देनसँग समदुरीमा बसेर राणाले बार्गेनिङ गरिरहेका छन् । स्रोतका अनुसार, राणाले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पनि यो कुरा पुर्याईसकेका छन् ।
अध्यक्ष लिङ्देनले पहिला संसदीय दलको नेता बनाउँछु भनेर आश्वासन दिएको तर नबनाएको भन्दै उनले अहिले मन्त्री हुन पाए हुने भनेर लविङ बढाएका हुन् । स्रोतका अनुसार, अध्यक्ष लिङ्देन र राणा बिच कुरा मिलेमा राप्रपा छिट्टै सरकारमा जान सक्ने बताइएको छ ।
त्यही कारण नै कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन नभएको अध्यक्ष लिङ्देनले बताएका हुन् । दुईदिन पहिलासम्म प्रदेश सांसदहरुले समर्थन रहेको बताएका थिए । अहिले अध्यक्ष लिङ्देन एमालेको एकल सरकार रहेको बताइरहेका छन् ।
प्रतिक्रिया