जोखिम मोलेरै भए पनि जनतालाई परिणाम दिनुपर्छः प्रधानमन्त्री दाहाल
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाएरै भए पनि देश र जनतालाई परिणाम दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार दिउँसो आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई निर्देशन दिए ।
रिपोर्ट कार्डको प्रस्तुतिपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताए । उनले भने, ‘हामी सबैले जिम्मेवारी बहन गर्नेतिरबाट सोच्नुपर्छ। जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन। जिम्मेवारीमा जोखिम हुन्छ, जोखिम मोल्न तयार हुने हुनुपर्दछ ।’
प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूवात भएको छ । यो आफैमा राम्रो सुरूवात हो । तर, राम्रो परिणाम ल्याउन आउने दिनहरूमा धेरै मेहेनत गर्नुपर्दछ। त्यसरी मात्र परिणाम दिन सकिन्छ ।’
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ शीर्षकको रिपोर्ट कार्डमा गत वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएको उल्लेख छ ।
प्रतिक्रिया