‘प्रचण्ड र लोकमानबीच के कुरा मिल्यो संसदलाई जानकारी गराउनुस्’
काठमाडौं : व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग ‘कुरा मिलिसक्यो’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच्ण्ड’ को अभिव्यक्तिको चर्को आलोचना भएको छ। आइतबार बसेको संसद बैठकमा सांसदहरुले अनुसन्धानमा रहेको मुद्दामा अदालत र मैले कुरा मिलाए भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री दाहाल र अख्तिायार प्रमुख आयुक्त कार्कीबीच ‘मिलेको भनिएको विषय’ का बारेमा संसदलाइ जानकारी दिन माग गरेका छन्। अख्तियार प्रमुख कार्कीको नियुक्तिको विषयमा सर्वोच्च अदालतले आफ्नै पुरानो निर्णयलाई उल्ट्याउँदै मुद्दा पुनरावलोकन थाल्ने आदेश गरेकै दिन कार्कीले लडाकुका लागि दिइएको रकम हिनामिना भएको मुद्दा अघि बढाउने बताएका थिए। त्यतिखेर भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको बैठकमा लोकमान र आफूबीच कुरा मिलिसकेको ब्रिफ गरेको सार्वजनिक भएको थियो। संसदको शून्य समयमा बोल्दै खतिवडाले भने–‘के के मिलेको हो संसदलाई जानकारी होस्।’ उनले सानालाई ऐन र ठूलालाई चैन हुने गरेको उल्लेख गर्दै ५८ करोड भ्रष्टाचारको एन्फा प्रकरणबारे अख्तिायरले के गर्दैछ भन्ने प्रश्न गरेका थिए । नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले पनि अख्तियारको फाइल हराएको र भेट्टाएको भनिएको विषयमा सदमा सरकारले जवाफ दिनुपर्ने माग गरे। एमालेका अर्का सांसद पशुपति चौलागाईँले सरकार र संवैधानिक निकायका बीचमा वाक युद्ध चलेको बताए। ‘अख्तियारको प्रमुखको खोजिनीति सर्वोच्चले पठाइदिन भन्दा हरायो भन्यो। फेरि पायो भन्यो’, उनले भने–‘अख्तियारले अनुसन्धानको फाइल खोल्छु भन्यो। प्रधानमन्त्रीले पार्टी बैठकमा लोकमानसिंह कार्कीसँग कुरा मिलाएँ भनेर सार्वजनिक रुपमा आयो।’ बैठकमा नेमकिपाका प्रेम सुवाल, नेकपा मालेका सिपी मैनाली प्रधानमन्त्रीले भारतसँग गरेको सहमति तत्काल खारेज गर्न माग गरे। प्रधानमन्त्रीले गरेको सहमति मुलुक र जनताको हितविपरित रहेकाले खारेज गर्नुपर्ने उनीहरुले बताए।
प्रतिक्रिया