बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
१० फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले दुईजनाको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले बालकुमारी घटना र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासमेत दोषी रहेको छानबिन समितिको प्रतिवेदनको राय सुझाव कार्यान्वयनका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।
यसअघि मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने वा बर्खास्त गर्नुपर्नेलगायतका माग राखेर सांसदहरुले सरकार र संसदको ध्यानाकर्षण गराउँदै उठेर विरोध जनाएका थिए ।
गत १३ पुसमा दुई जना युवाको ज्यान जाने गरी बालकुमारी घटना भएको थियो ।
उक्त घटनाबारे छानबिन गर्न गठित समितिले मन्त्री ज्वालासहितलाई दोषी देखाउँदै तयार पारेको प्रतिवेदन गृहमन्त्री र प्रधानमन्त्रीलाई बुझाइसकेको छ । तर, मन्त्री ज्वालाले राजीनामा नदिएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बर्खास्त नगरेपछि प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएका हुन् ।
प्रतिक्रिया