तरुण दलमा आ–आफ्नै स्वार्थ, डन पनि उम्मेदवार

minkकाठमाडौं । नेपाली कांग्रेसको शक्तिशाली भातृ संगठनका रुपमा चिनिएको नेपाल तरुण दलको नेतृत्व कब्जा गर्न पार्टीका पाँच वटा गुट सक्रिय भएर लागेका छन् । संस्थापन अर्थात देउवा पक्ष, रामचन्द्र पौडेल पक्ष, कृष्णप्रसाद सिटौला, शशांक कोइराला र खुमबहादुर खड्का पक्ष तरुण दलको नेतृत्व आफु अनुकुल ल्याउन चाहन्छन् । तरुण दल महाधिवेशन गराउनका लागि सभापति शेरवहादुर देउवाले बालकृष्ण खाँडको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेका छन् । तरुण दलको अध्यक्षका लागि एक दर्जन आकांक्षीहरु देखिएका छन् । अहिलेको कार्य समितिमा रहेकामध्ये देउवा पक्षबाट जन्मजय तिम्सिना प्रमुख दाबेदार हुन् भने सिटौला समूहबाट दिनेश राई, मेदिनी सिटौला र नारायण भट्टराई मध्ये एकलाई उठाउने चर्चा छ । त्यस्तै रामचन्द्र पौडेल पक्षबाट भूपेन्द्रजंग शाही र टेकराज पौडेल अध्यक्षका मुख्य दाबेदार हुन् । शशांक कोइराला र शेखर कोइरालाले भने विपीका नाती सिद्धार्थ कोइरालालाई अध्यक्षमा उठाउने हल्ला चलेपनि अन्तिममा भने कोइराला र पौडेल मिलेर एक जनालाई मात्र उठाउने सहमति भएको छ । त्यसैगरी खुमबहादुर खड्का र बनमन्त्री शंकर भण्डारीको समूहबाट ललितपुरका डन मिनकृष्ण महर्जन उठ्ने भएका छन् । खड्का समूहबाटै देउवाको समेत समर्थन पाएका तनहुँका पूर्ण गुरुङ पनि उठ्ने चर्चा छ । तरुण दलको अधिवेशन गर्न भनेर चार वर्षअघि उदयशमसेर राणाको अध्यक्षतामा ४५ सदस्यीय तदर्थ समिति गठन भएको थियो । ६ महिनाभित्र महाधिवेशन गराउने र कार्य समितिका सदस्यले चुनावमा भाग लिन नपाउने भनिएको थियो । तर, यसबीचमा महाधिवेशन नभएका कारण अब पहिलेको निर्णय लागु हुन नहुने भन्दै अहिलेको कार्य समितिका अध्यक्षका दाबेदारहरुले सबैले भाग लिन पाउनुपर्ने लबिङ गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित