सरकारको निर्णय नै गलत : विजुक्छे
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारको क्रियाकलाप ठिक नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । रफत सञ्चार क्लबले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई विशेष दूत बनाएर पठाउनु गलत भएको टिप्पणी गरे । नेपालको हरेक निर्णयको चाबी भारतसँग भएको बताउँदै उनले कुस्ती खेल्न पठाउनु पर्ने ब्यक्तिलाई दूतको रुपमा पठाउनु प्रधानमन्त्रीको त्रुटि भएको बताए । अघिल्लो सरकारमा उर्जामन्त्री टोपबहादुर रायमाझीले सार्क देशहरुका लागि संयुक्त विद्युत सम्झौता प्रस्ताव गर्नु र अहिले माओवादी नेतृत्वको सरकारमा संसदमा विधेयक प्रस्तुत गर्नुले वर्तमान सरकारको भारतप्रतिको झुकाव प्रष्ट भएको उनले बताए । विजुक्छेले सभामुखको भूमिकामा पनि प्रश्न उठाए । आफ्नो पदीय दायित्व भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भूमिकामा देखा परेको उनको भनाइ छ ।
प्रतिक्रिया