प्रेमका कारण विप्लव माओवादीमा भाँडभैलो

biplabकाठमाडौं । आर्थिक विषयलाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीको केन्द्रीय आर्थिक विभागका सेक्रेटरी प्रेम दर्नालका कारण स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्ग विश्वकर्मा संकटमा परेका छन् । दर्नालले आफू खुसी चन्दा उठाएर करोडौं रुपैयाँ स्वाह पारेपछि विश्वकर्मा संकटमा परेका हुन् । दर्नालले राजधानीका सुन, कपडा र विभिन्न स्थानमा मजदुरी गर्दै आएका मजदुरहरूसँग महिनावारी चन्दा उठाएर हिनामिना गर्ने गरेको स्रोतको भनाई छ । प्रवक्ता विश्वकर्मा निकटका दर्नालका सबै गतिविधिबाट आजित बनेका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ बोल्ने अवस्थामा छैनन् । दर्नाललाई कारबाही गर्नेवित्तिकै विश्वकर्मा भड्किने भएकाले ‘विप्लव’ मौन बसेको स्रोतको भनाई छ । यतिसम्मकी दर्नालले प्रवक्ता विश्वकर्माको आडमा नेकपा माओवादी केन्द्रीय समितिको लेटरप्याड प्रयोग गरेर खण्डनसमेत आफैले प्रकाशित गरेका छन् । केन्द्रीय समितिको लेटर प्याड प्रयोग गरेर विज्ञप्ति निकाल्ने दर्नाल विप्लवकै व्यक्ति हुन् । पार्टीभित्र दर्नाललाई कारबाहीको माग उठेपछि विश्वकर्मा र दर्नाल चिन्तित बनेका छन् । दर्नालकै विषयमा विप्लव माओवादीभित्र आगोको ज्वाला दन्किएको छ । महासचिव विप्लव आर्थिक विषयमा चाखो मानिन्छन् । उनले पार्टी चलाउनका लागि मात्रै चन्दा संकलन गर्नुपर्ने मान्यता राख्छन् । तर, प्रवक्ता विश्वकर्माले दर्नाललाई अगाडि सारेर धमाधम पैसा संकलनमा लागेपछि यो विषय बिबादमा तानिएको हो । सामान्य परिवारका दर्नाल आजकाल ३५ लाख पर्ने क्रोला कार चढेर हिँड्छन् । राजधानीमा घरजम जोडेका दर्नालको आय स्रोत केही पनि छैन । ठमेलमा ट्राभल्स एण्ड टुर्स चलाउँदै आएका प्रेम दर्नालले भाइको नाममा लगानी गरेको स्रोतको भनाई छ । यो व्यवसायमा स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्ग विश्वकर्माको पनि लगानी रहेको एक माओवादी नेताले दाबी गरे । यस विषयमा जानकारी लिन प्रवक्ता विश्वकर्मासँग सम्पर्क गर्दा मोबाइल फोन उठाएनन् । चैते माओवादी भनेर चिनिने दर्नालका विषयमा धेरै आलोचना बढेपछि विप्लवले कारबाही गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ । हुन त चन्दा आतंक गरेकै कारण केही समय अगाडि प्रेम दर्नाललाई प्रहरीले टेकुमा एकरात थुनेर राखेको थियो । दर्नाललाई प्रवक्ता विश्वकर्माले आफै निकालेर लगेको प्रहरी स्रोतको भनाइ छ । न्यूरोडका सुन व्यापारीसँग दश लाख माग गरेर आतंक मच्चाएपछि दर्नाललाई प्रहरीले गिरफ्तार गरेको थियो । बिबादित छवि बनाएका दर्नालकै कारण विप्लव र प्रवक्ता विश्वकर्माको सम्बन्ध विग्रने हो कि भनेर माओवादी नेताहरू चिन्तित बनेका छन्,यूनाइ टेड पोस्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित