बालकोट वार्तामा प्रचण्ड सशंकित, ओली समूह अल्पमतमा पर्ने खतरा
ओलीको आश्वसनबाट प्रचण्डले चित्त बुझाउन नसकेको स्रोतको भनाई छ । तर, प्रचण्डलाई पनि ओलीले कांग्रेस र मधेस केन्द्रित दलहरुसँग मिलेर प्रधानमन्त्री बन्ने तयारी गरेको भनेर व्यङ्ग्य गरेका थिए ।
केहीबेर ओली र प्रचण्डबीच तिक्तता पोखापोख भएको स्रोतले जनाएको छ । सबै कुरामा छलफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिनका लागि दवाव सिर्जना गर्न ओलीले प्रचण्डसँग प्रस्ताव राखेका थिए । तर, देउवालाई दवाव दिने र राष्ट्रिय सभाको अध्यादेशका विषयमा नरम भएर जानुपर्नेमा ‘प्रचण्ड’ले केही लचकता अपनाउनुपर्ने सुझाव ओलीलाई दिएको एक नेताले बताए । तर, ओलीले लचकता देखाउने पक्षमा आफू नरहेको भन्दै ‘प्रचण्ड’लाई पनि एमालेको लाइनमा अभिव्यक्ति दिन दवाव दिएको स्रोतले जनाएको छ । राष्ट्रिय सभा अध्यादेश राष्ट्रपतिले रोकेर राखेकोमा ‘प्रचण्ड’ले ओलीसँग असन्तुष्टि जनाएका थिए ।
‘प्रचण्ड’ले ओलीलाई संवैधानिक राष्ट्रपतिलाई एमालेले विवादमा ल्याएर राजनीतिक गतिरोध लम्बाएको आरोप समेत लगाए । जवाफमा ओलीले सो विषयमा छलफल गरेर अगाडि बढ्नुपर्ने भन्दै देउवाले पेलेर जान खोजेपछि आफू बाध्य भएर अध्यादेशको कुरा उठाएर कांग्रेसलाई अप्ठ्यारो बनाउन सक्रिय भएको बताएका थिए ।
पार्टी एकीकरणको विषयमा ओली र प्रचण्डले सैद्धान्तिक सहमति जनाएको दाबी गरिएको छ । बाम गठबन्धनको सरकार बनाएपछि केही महिनापछि पार्टी एकीकरण गर्नुपर्नेमा भने दुबै नेता सकारात्मक रहेको बताइएको छ । एकदुई दिनभित्रै पार्टी संयोजन समितिको बैठक बसेर पार्टी एकताको प्रक्रियालाई औपचारिक रुपमा अगाडि बढाउने सहमति गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । ओली र प्रचण्डबीच लामो समयपछि भएको वार्ताबाट ठोस निष्कर्ष आउने बताइएको थियो । तर, सोचे अनुसारको निर्णय बाहिर आउन नसकेको बताइएको छ । शीर्ष नेताहरुको वार्तामा ओली र प्रचण्ड मात्रै रहेका थिए । उता, पार्टी एकीकरणका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले तदारुकता देखाएको छ ।ओली समूहबाट पेलानमा परेको नेपाल समूहले ‘प्रचण्ड’लाई अध्यक्ष बनाएर लाभ लिने योजनामा छ । तर, ओली समूह प्रधानमन्त्री र अध्यक्ष पद ‘प्रचण्ड’लाई दिने योजनामा छैन । प्रधानमन्त्री र अध्यक्ष पद बाहिरियो भने ओली समूह अल्पमतमा पर्ने भएकाले महासचिव ईश्वर पोखरेलसहितको समूह पार्टी एकीकरणको विपक्षमा देखिएको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया