अबको सरकार हिजोको जस्तो कमजोर हुँदैन : प्रचण्ड
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले नेपालमा अब बलियो सरकार बन्ने बताएका छन् । हिजोको जस्ता कमजोर सरकार अब नबन्ने भन्दै अध्यक्ष दाहालले भने-'हिजो यस्तो सरकार हुन्थ्यो कि आफैँले गर्छु भनेका कुराहरू पनि गर्न सकिदैन थियो । अब त्यस्तो हुँदैन' चितवन उद्योग संघले आइतबार साँझ आयोजना गरेको जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा विजयी जनप्रतिनिधिहरुको सम्मान कार्यक्रममा दाहालले अब बलिायो सरकार बन्ने भन्दै आयात निर्यातसँग सम्बन्धित राष्ट्रहित विपरितका कानुनहरूलाई संसोधन गर्ने पनि बताए । दाहाल हालै सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट विजयी भएका थिए । दाहालले आर्थिक विकासका लागि ऐन कानुमा पनि सुधार गर्नु पर्ने बताए । ‘खास गरेर आयात निर्यातसँग सम्बन्धित हाम्रा राष्ट्रहित विपरितका कानुनहरूलाई संशोधन गर्न सके र हामी सबैले संकल्प गरे आउँदो पाँच वर्षभित्र केही न केही रुपमा आर्थिक क्रान्ति गरेर आर्थिक विकासको एउटा मोडल नै दुनिया सामु राख्न सकिन्छ’-दाहालले भने । शान्ती, सुशासन र विकास एक अर्काका परिपुरक रहेका कारण आउँदो सरकारले यसमा ध्यान दिने र ठूला महत्वकांक्षी मानिएका योजना पनि सम्पन्न हुने उनले बताए।
प्रतिक्रिया