कुनै पनि हालतमा पार्टी एकता हुन्छ : प्रचण्ड
चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादीको पार्टी एकताबाट पछि नहट्ने ठाउँ बताएका छन् । संगठन मिलाउने क्रममा जटिलता आउनसक्ने भन्दै उनले त्यसको विकल्प समेतखोजिसकेको बताए । चितवनमा बाम बुद्धिजीवीले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै दाहालले पार्टी एकताका सन्दर्भमा मिडियामा कपोलकल्पित र भ्रामकरुपमा समाचार आएकोप्रति उनको गुनासो थियो । दाहालले भने–‘मैले र केपी ओली कमरेडले जानीबुझी पुल बाँकी राख्यो भने फर्किने खतरा हुन्छ, पुल नै भत्काइदिउँ भनेर एकतामा एकै चोटी हामफालेको हो ।’ एमाले र माओवादी दुबै पार्टीको नेतृत्वले एकता प्रक्रियाबाट पछि हट्ने कल्पना नगरेको उनको भनाई थियो । उनले भने–‘पार्टी एकता गम्भीरताका साथ अगाडि बढेको छ, अब टुंग्याउने ढंगले अगाडि बढेको छ ।’ ‘सेटिङमा, संगठन मिलाउनेमा जटिलता हुन पनि सक्छ । तर, हामीले विभिन्न विकल्प सोचिसकेका छौं र ती कुनै पनि विकल्प अगाडि जाने मात्र छन् पछि हट्ने कुनै विकल्प छैन ।’ उनले थपे । राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीबाटै गर्नेमा सहमति भएको दाबी गर्दै दाहालले तर स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमाले र माओवादी केन्द्रबाट धेरै प्रतिनिधि विजयी भएपछि कांग्रेस पछि हटेको आरोप लगाए । बहुमतीय प्रणालीमा गए कांग्रेसका एक जना पनि प्रतिनिधि नआउनु पनि त्यति राम्रो नभएको भन्दै दाहालले बीचको बाटोबाट समाधान खोज्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको बताए ।
प्रतिक्रिया