देउवा र सिटौलाको सहमतिपछि जीतजंग उत्साहित

aajitकाठमाडौं । अनसनरत पक्षसँग सहमति भएपछि नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको बन्दसत्र आज सुरू हुँदैछ । विधिसम्मत हुन नसकेका र विवादित देखिएका जिल्ला, क्षेत्र र क्याम्पस इकाइहरुबाट सहमतिका आधारमा प्रतिनिधि बाँडफाँड गर्ने सहमति भएको छ । ‘११ औं महाधिवेशनमा जिल्ला, क्षेत्र र क्याम्पस इकाइहरु विवादित र विधिसम्मपत हुन नसकेका कारण प्रतिनिधि हुनबाट बञ्चित रहेका विद्यार्थीहरुलाई सहमतिका आधारमा केन्द्रीय महाधिवेशनमा भाग लिने व्यवस्था मिलाइनेछ’, महाधिवेशन निर्देशक समितिका संयोजक प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही बुँदाका आधारमा विद्यार्थीहरुको अनसन तोडिएको हो । नेविसंघभित्र सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेल समूहलाई ३०/३० प्रतिशत प्रतिनिधि बाँडेर चुनाबमा जाने सहमति भएको छ । विधानसम्मत तरिकले आएका प्रतिनिधिका हकमा यो लागू हुने छैन ।  विहीबार विहान  प्रतिनिधिहरूलाई प्रतिनिधि प्रमाणपत्र वितरण गर्ने कार्यक्रम समेत रहेको छ । नेविसंघको महाधिवेशनमा निर्वाचनको लागि ५ सदस्यीय निर्वाचन समिति समेत गठन भइसकेको छ । २९ गते निर्वाचन गर्ने मोटामोटी सहमति भएको छ । अध्यक्षसहितका पदाधिकारीहरुका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच मिलेर जाने सहमति तय भएको संकेत बुधबार हार्दिक होटलमा नेता सिटौलाले दिएका थिए ।

देउवा र सिटौलाबीच हुन लागेको भागवण्डाको सहमति अनुसार अध्यक्षमा सिटौला पक्षले देउवाका उम्मेदवारलाई सघाउने र महामन्त्रीमा सिटौलाका उम्मेदवारलाई देउवा पक्षले सघाउने जनाइएको छ । अध्यक्ष पदका लागि संस्थापन अर्थात देउवा पक्षबाट जितजंग बस्नेत र नैनसिंह महरमध्य एकलाई उठाउने र महामन्त्रीमा सिटौला पक्षबाट कुन्दनराज काफ्ले र रामप्रसाद अधिकारी तथा देउवा पक्षबाट सरोज थापालाई उठाउने स्रोतको भनाई छ । महामन्त्री पदमा दुई जना निर्वाचित हुने र एक जना मनोनित हुने व्यवस्था छ । अध्यक्षमा महरले आफू आधिकारीक उम्मेदवार भन्दै हल्ला चलाए पनि अन्तिममा उनलाई पार्टी केन्द्रिय सदस्यमा मनोनित गर्ने देउवाले आश्वसन दिएका कारण बस्नेत नै आधिकारिक उम्मेदवार बन्ने नेविसंघ स्रोतको भनाई छ । त्यसैगरी बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणी आचार्य अध्यक्ष पदका लागि आधिकारिक उम्मेदवार बनेपनि महामन्त्रीमा भने अहिलेसम्म कसैको नाम बाहिर आएको छैन । महामन्त्री पदमा चर्चित अनुहार उर्मिला थपलियाले पनि उम्मेदवारी घोषणा गरेको हुँदा कडा प्रतिष्पर्धा हुने देखिन्छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ  ।

प्रतिक्रिया

सम्बन्धित