शिर्ष नेताहरुका कारण नेविसंघको बन्दसत्र स्थगित

nsuकाठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको आज हुने भनिएको बन्द सत्र स्थगित भएको छ । नेविसंघका प्रवक्ता युपि लामिछानेले विशेष कारणवश बन्दसत्र स्थगित गरिएको जानकारी दिएपनि पार्टीका शीर्षस्थ नेताहरूबीच नै आरोप–प्रत्यारोप भएपछि बन्दसत्र स्थागित भएको बुझिएको छ । लामिछानेका अनुसार बन्दसत्र भोली २ बजे हुने छ । नेविसंघमा अहिलेसम्म बनेका १७ अध्यक्षमध्ये १० वटा मात्रै निर्वाचनबाट चुनिएका छन् । सात वटा नेतृत्व माउ पार्टीको हस्तक्षेपमा चयन भएका हुन् । आफूअनुकूल नेतृत्व ल्याउनकै लागि पार्टीका शीर्षस्थ नेताहरूबीच नै आरोप–प्रत्यारोपमा उत्रिएसँगै नेविसंघको महाधिवेशनमा विवाद भइरहेको छ । महाधिवेशनमा भाग लिने प्रतिनिधिको विवादलाई लिएर पार्टी सभापति शेरबहादुर देउवापक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच आरोप–प्रत्यारोप भइरहेको छ । भृकुटीमण्डपमा आइतबार सुरु संघको एघारौं महाधिवेशन उद्घाटन समारोहमै शीर्षस्थ नेताहरूबीच आरोप–प्रत्यारोप चलेपछि सोमबार बिहानबाट सुरु हुने भनिएको बन्दसत्र हुन सकेन । महाधिवेशनबाट ६४ जिल्लाको प्रतिनिधि छनोट भए पनि ११ जिल्लामा भागबन्डाका आधारमा मिलाउने प्रयास भएपनि प्रतिनिधि विवाद मिल्न सकेको छैन । सिटौला पक्षले भने महाधिवेशन भएका ६४ जिल्लामध्ये अधिकांशमै संस्थापन पक्ष र पौडेल पक्षबीच भागबन्डा आधारमा प्रतिनिधि बाँडिएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । पौडेल पक्ष भने ६४ जिल्लामा विधिसम्मत रूपमा अधिवेशन भएको र त्यसलाई वेवास्ता गर्दै प्रतिनिधि परिवर्तन गर्न खोजिएको भन्दै आक्रोशित बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित