आन्दोलनमा मारिएका परिवारलाई एक हप्ताभित्र १० लाख
काठमाडौं : सरकारले मधेस आन्दोलनमा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकबाट यो निर्णय गर्नु अघि प्रचण्डले मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग परामर्श गरेका थिए । बैठकले मधेस आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिने निर्णय पनि गरेको छ । बैठकपछि सरकारका प्रवक्ता समेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले दिएको जानकारी अनुसार सरकारले घाइतेलाई उपचारको बिल अनुसारको खर्च दिने छ । यसैगरी मधेस आन्दोलमा भएको भनिएको दमन छानबिनका लागि पनि गृहमन्त्रालयलाई प्रक्रिया थाल्न मन्त्रिपरिषद् बैठकले निर्देशन दिएको छ ।
प्रतिक्रिया