को–को आएनन प्रचण्डलाई भोट हाल्न ?
काठमाडौं । व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रधानमन्त्रीको उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेस गठबन्धनकै सांसदहरुले भोट हालेनन् । कांग्रेस र माओवादी दुवै दलले प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको पक्षमा भोट हाल्न व्यवस्थापिका संसदको बुधबारको वैठकमा अनिवार्य उपस्थित हुन ह्वीप नैं जारी गरेका थिए । निर्वाचनमा नेपाली कांग्रेसका चार र माओवादी केन्द्रका एक जना सांसद अनुपस्थित भएका छन् ।
यसरी प्रधानमन्त्रीका उम्मेदवार दाहाललाई मत हाल्न नपाउनेमा कांग्रेस महामन्त्री डा. शसांक कोइराला, केन्द्रीय सदस्यद्वय नरहरि आचार्य र मनमोहन भट्टराई र सांसद वीरबहादुर वलायर छन् । महामन्त्री डा. कोइराला र केन्द्रीय सदस्य आचार्य अस्वस्थ भएका कारण संसद बैठकमै आउन सक्दैनन् । केन्द्रीय सदस्य भट्टराईकी माताको गत साता निधन भएकोले उनी आसौच बारेर बसेका छन् ।
अर्का सांसद वलायरकी माताको पनि निधन भएपछि दिउँसो तीन बजेसम्म संसद बैठकमा बसेर उनी हवाईमार्ग मार्फत गृह जिल्ला डोटी गएको कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाका स्वकिय सचिव केशवराज जोशीले बताए । महामन्त्री डा. कोइरालालाई फोक्सोमा समस्या भएपछि दुई साता अघि उपचार गरी घरमा आराम गरिरहेका छन् भने अर्का केन्द्रीय सदस्य आचार्य कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको निधनको समयमा मस्तीष्क पक्षघात भएर उपचारपछि घरमै आराम गरिरहेका छन् ।
यता, एमाओवादी सांसद योगेन्द्र तामाङ घिसिङ पनि प्रधानमन्त्री निर्वाचनमा आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मत हाल्न पाएनन् । उनी संसद बैठकमै उपस्थित नभएको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले यूनाइटेड पोष्टलाई बताए ।
प्रतिक्रिया