१६ दलको सहयोगमा प्रचण्ड ३९ औँ प्रधानमन्त्री

pranewकाठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ साउन ३१ गते पहिलोपटक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् राजनीतिक आरोहअवरोह पार गर्दै अध्यक्ष दाहाल मुलुकको कार्यकारी प्रमुखको बागडोर सम्हाल्न आइपुग्नुभएको छ ।

 राजनीति सम्भावनाको खेल हो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट बाहिरिएपछि संसद्को पहिलो ठूलो दल काँग्रेसलगायतका पार्टीको समर्थनमा संविधान कार्यान्वयन, शान्ति प्रक्रियालाई पूर्णता, भूकम्पपछिको पुनःनिर्माण, संविधान निर्माण प्रक्रियालगायतका विषयमा असन्तुष्टि दर्ज गर्दै आन्दोलनमा रहेका मधेस केन्द्रित दललगायतका विशिष्ठ कार्यभार पूरा गर्ने लक्ष्यसहित अध्यक्ष दाहाल उहाँको राजनीतिक जीवनमा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालको जन्म विसं २०११ मङ्सिर २६ गते कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिनुभयो । विसं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी २०२७–२०२९ सालमा पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गर्नुभयो ।

  २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गर्नु भई एमपीएको समेत अध्ययन गर्नुभएको दाहाल आफूलाई दाहालको नाममा चिनाउन चाहनुहुन्छ ।गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक एजेन्डालगायत नयाँ संविधानले स्थापित गरेका मूल्य र मान्यतालाई दश वर्षे जनयुद्ध र जनआन्दोलनको माध्यमबाट स्थापित गराउन प्रमुख भूमिका खेल्नुभएका दाहाल मुलुकलाई अगाडि बढाउन जोखिम समेत मोल्नुपर्छ भन्ने आँट गर्ने नेता हुनुहुन्छ । संविधानसभाको पहिलो निर्वाचनपछि झन्डै बहुमतमा रहेको नेकपा (माओवादी) र त्यसका अध्यक्षको रुमपा प्रधामनन्त्री बन्नुभएका दाहाल विवादास्पद प्रधानसेनापति रुक्माङ्गद कटुवाललाई गरिएको कारबाही तत्कालीन राष्ट्रपति डा रामवरण यादवले फिर्ता लिनुभएपछि नैतिकताको आधारमा राजीनामा दिएर कार्यकालको नौ महिनामा नै फिर्ता हुनुभएको थियो । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमति र त्यसैको आलोकमा निर्माण भएको वर्तमान गठबन्धनले पालैपालो नौ नौ महिना सरकार चलाउने र मुलुकका सामु रहेका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । तर नवनिर्वाचित प्रधानमन्त्री दाहालका सामु अवसर र चुनौती दुवै छ । अघिल्लो सरकारले सुरु गरेका केही राम्रा कामलाई अगाडि बढाउँदै मुलुकलाई थप गति दिनु उहाँको पहिलो कर्तव्य हुनेछ । २०७४ माघ अगावै स्थानीय, प्रान्तिय र केन्द्रीय तीन वटा निर्वाचन गर्दै संविधानको सहज कार्यान्वयन गर्नेतर्फ सरकार र त्यसको नेताको हैसियतमा नवनिर्वाचित प्रधानमन्त्री दाहाल लाग्नुभएको खण्डमा नेपाली इतिहासमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिनेछ । त्यसका लागि आजैबाट प्रमुख प्रतिपक्षीमा पुगेको नेकपा (एमाले)लगायतका दलसँग सरकारको सम्बन्ध र त्यसले पार्ने प्रभावले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित