प्रचण्डलाई ओलीले प्रश्न गरेपछि
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा सँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीले अध्यक्ष दाहाललाई के सन्दर्भमा भेट्न खोज्नुभएको हो भनी प्रश्न गरेपछि अध्यक्ष दाहालले राष्ट्रपतिबाट सहमतिको सरकार गठन गर्न दिनुभएको समयका बारेमा बताएका थिए ।त्यसपछि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारका बारेमा तपाईको दल र तपाईसँग सहकार्य गर्न खोज्ने नेपाली कांग्रेसको धारणा के हो भनी प्रश्न गरेका थिए ।
भेटवार्तामा माओबादी केन्द्रका अध्यक्ष दाहालले अब बन्ने सरकारले वर्तमान सरकारले चीन सरकारसँग गरेका सम्झौताहरुको कार्यान्वयन गर्नुका साथै राष्ट्रिय हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले यदि अब बन्ने सरकारले राष्ट्रिय हितमा काम गरे, काठमाण्डौं– तराई जोड्ने द्रत्तमार्ग र चीनसँग भएका सहमति र सम्झौता लगायतका राष्ट्रिय हितका काम कार्वाही अगाडि बढाएमा आफू र आफ्नो पार्टीले सहयोग गर्ने तर अबको सरकारको काम कार्वाही र व्यबहार हेर्ने बताएका थिए ।
प्रधानमन्त्रीले नेपाली कांग्रेस, माओबादी केन्द्र र मधेसी मोर्चाले छलफल गरी स्थानीय निकायको निर्वाचन चैतमा गर्ने सहमति गरेर आफू र आफ्नो पार्टीलाई निर्णय सुनाउन आउने अनि सहमतिको कुरा गर्ने भनी प्रश्न गरे । प्रधानमन्त्री ओलीले अब बन्ने प्रधानमन्त्री चैतमा फेरिने र चैतमा नै निर्वाचन गर्ने कुरामा सहमति नमिलेकोले निर्वाचन नै नगराउने षडयन्त्र भएकोमा आशंका व्यक्त गरेका थिए ।
भेटमा प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री भीम रावल, नेकपमा एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङ, नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रमुख सचेतक भानुभक्त ढकाल र नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।
प्रतिक्रिया