सरकार गठनका लागि पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

maoist meetingकाठमाडौं : नेकपा माओवादी केन्द्रले सहमतीय सरकार गठनको पहल गर्ने निर्णय गरेको छ। त्यसका लागि सबैतिर पहल गर्ने जिम्मा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ। सोमबार बिहान लाजिम्पाटमा बसेको कार्यालय समितिको बैठक राष्ट्रिय सहमति कायम गरी सहमतिको सरकार निर्माण गर्न सबैतिर पहल र निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको जनाएको छ। प्रवक्ता पम्फा भुषालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति एमाले लगायतका दलसँग आवश्यक छलफल र निर्णय गर्ने जिम्मा प्रचण्डलाई दिएको बताइन्। उनले भनिन्–‘तीन बुँदे कार्यान्वयनका लागि एमालेसँग छलफल गर्ने र सँगसँगै राष्ट्रिय सरकार निर्माणको निम्ति पहल गर्ने जिम्मा बैठक अध्यक्षलाई दिइयो ।’ यसअघि माओवादी केन्द्रको पोलिटब्युरो बैठकले पनि एमालेसँग भएको सहमति र समझदारी कार्यान्वयन गर्न आग्रह गर्ने निर्णय गरेको थियो। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा भएको सत्तारुढ बैठकमा एमाओवादीले सत्ता हस्तान्तरण गर्न प्रस्ताव गरेको थियो। अध्यक्ष प्रचण्डले बैठकमा भद्र सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री ओली र एमालेसँग आग्रह गरेका थिए। साथै पार्टीको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्तावका बारेमा समेत धारणा राखेका थिए। त्यसअघि एमाओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पनि नयाँ सरकार गठनका लागि पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो। गएको वैशाख २३ गते एमाले र एमाओवादीबीच वर्तमान सरकारलाई निरन्तरता दिने भन्दै ९ बुँदे समझदारी भएको थियो। माओवादीले बजेट पारित भएपछि एमालेले सत्ता छाड्ने र माओवादीले नेतृत्व लिने भद्र समझदारी भएको तर्क समेत गर्दै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने भद्र सहमतिको प्रस्ताव मात्रै आएको र त्यसलाई आफूले अस्वीकार गरेको जिकिर गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित