माओवादीको निर्णय कुरिरहेका छौं : सिटौला

Krishna-sitaula-1पोखरा : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकार जनतामाझ रमिता बनिरहेको बताएका छन् । प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भूकम्प पछिको पुनर्निर्माण, आर्थिक समृद्धि र मुलुकको विकास सबैमा असफल बनेर जनतामाझ रमिता बनेको टिप्पणी गरेका हुन् । नेता सिटौलाले सरकार परिवर्तनका लागि नेकपा माओवादी केन्द्रले निर्णय गरेलगत्तै कांग्रेसले आवश्यक निर्णय गर्ने भन्दै माओवादीको निर्णय कुरेर बसेको बताए । यद्यपी उनले बहुमतीय भन्दा सहमतीय सरकार नै अहिलेको आवश्यक्ता रहेको जिकिर गरे । ३ वटा निर्वाचन सम्पन्न गर्न, भूकम्प पुनर्निर्माण गर्न र साझा आर्थिक नीति बनाउन पनि सहमतीय सरकार आवश्यक रहेको बताउँदै नेता सिटौलाले अर्थतन्त्रको विषयमा पनि सबै दलको साझा अवधारणा हुनुपर्ने बताए । नेता सिटौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीच भूकम्प पीडितलाई पहिलो किस्तामा एकमुष्ट डेढ लाख दिने सहमति सरकारले पालना गर्नेमा आशंका व्यक्त गरे । उनले भने–‘भूकम्प गएको पन्ध्र महिना बितिसक्दा पनि भूकम्प पीडितले रकम नपाएकाले अब पनि दिनेमा ढुक्क हुन सकिन्न ।’ नेता सिटौलाले स्थानीय निकायको चुनाव मंसिरमा सम्भव नरहेको बताएका छन् । चुनावी कानून नै नबनेको अवस्थामा चुनावको कार्यविधि नबन्ने भएकाले मंसिरमा चुनाव असम्भव भएकाले माघ’फागुनमा मात्र गर्न सकिने उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित