भुटानी राजा काठमाडौं आउँदै

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही मंसिर २१ गते काठमाडौं आउने भएका छन् । उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । विहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने स्रोतको भनाइ छ ।

 भुटानी राजा केही घण्टा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी अघि बढाइएको छ । राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो । उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो । साथै नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो ।

 जानकारहरुका अनुसार तत्कालिन रानी छिरङले हलेसी महादेवको मन्दिरमा पूजा गरेको र पुत्रका रुपमा जिग्मेको जन्म भएको पनि बताइन्छ । त्यतिबेला राजा वीरेन्द्रले भुटानी राजपरिवारप्रति सहयोग तथा सद्भाव राखेका थिए । दुबै देशका राजपरिवारबीच घनिष्ठ सम्बन्ध थियो ।

प्रतिक्रिया

सम्बन्धित