‘डन’ मन्त्रीको सेल्फी मोह !
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा ‘डन’ मन्त्रीका रुपमा चिनिएका स्थानीय विकास सहायकमन्त्री रेशम लामाको सिंहदरबारभित्र अर्कै कामधन्दा हुने गरेको छ । हिन्दू राष्ट्र र राजसंस्थाको नाम बिक्री गरेर राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका लामाले जनताका कामभन्दा कुन्डले, मुन्द्रे, डकैत, चोर, फटाह, लठैत आदिलाई स्थानीय विकास मन्त्रालयमा बोलाएर फोटो शेसन गर्ने गरेका छन् ।
मन्त्रालयमा काम नै नभएपछि लामाले आफ्ना आसेपासे टोले गुन्डाहरूलाई सिंहदरबारभित्र रहेको स्थानीय विकास मन्त्रालयमा बोलाएर सेल्फी लिने गरेका हुन् । ‘सहायक मन्त्री लामा ज्यूको खासै काम छैन’, मन्त्रालयका एक कर्मचारीले भने–‘भूतपूर्व डन भएकाले होला आजका मन्त्रालय ‘डन’हरूको अखडा बनेको छ ।’ ती कर्मचारीले अगाडि भने–‘मन्त्री ज्यूको कार्यकक्षमा दिनदिनै सेल्फी खिँचेर फेसबुकमा राख्ने टोले गन्डाहरूको भिड देख्ने गरिएको छ ।’
यतिसम्मकी सहायक मन्त्री लामाले मन्त्रालयबाटै ‘ढकुटी’को धन्दा चलाउने गरेका छन् । उनले क्रसर व्यवसायहरूलाई धम्काएर पैसा उठाउने धन्दा चलाइरहेको पनि आरोप छ ।सहायक मन्त्री लामालाई भेट्न अर्का ‘डन’ गणेश लामा पनि बेलाबेला स्थानीय विकास मन्त्रालय जाने गरेका छन् । प्रहरीको आँखा छलेर आफ्ना गुरुसमेत रहेका लामालाई भेट्न जाने गरेको स्रोतले जनाएको छ । उनै लामाले गणेश लामालाई अपराधिक गतिविधिमा संलग्न गराएका हुन् ।
अकुत सम्पत्ति कमाएको अभियोगमा सम्पत्ति सुद्धिकरणको मुद्दा झेल्दै आएका गणेश लामालाई राप्रपा नेपालमा भित्राउन लामाले फकाउने समेत गरेका छन् । तर, राप्रपा नेपालको हैसियत बुझेका गणेश लामाले भने गुरु लामाको आग्रहलाई नसुने झै गर्ने गरेका छन्- यूनाइटेड पोस्ट साप्ताहिकमा उल्लेख छ ।
यसैबीच, डन मन्त्री लामाले नगरपालिकाहरूका कार्यकारी प्रमुखहरूलाई फोन गरेर आफ्ना कार्यकर्तालाई जागिर लगाइदिन दबाब दिने गरेका छन् । अहिले नगरपालिकाका कार्यकारी प्रमुखहरू डन मन्त्री लामाको हर्कतबाट आजित बनेका छन् ।
प्रतिक्रिया