सुप्रिम सहकारी ठगीमा  रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस


काठमाडौं ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी हिजो अदालतमा उपस्थित भएका थिए । हिजो रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो ।

इजलासले बिहीवार बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेको थियो । लामिछाने आज थुनछेक बहसका लागि अदालतमा उपस्थित हुनेछन् । कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनी माथि उजुरी गरेको हो ।
 

प्रतिक्रिया

सम्बन्धित