विद्यालय होस त डहु माविजस्तो, हेडसर–दलबहादुर जस्तो


रामेछाप ।

दुर्गम गाउँको सामुदायिक विद्यालय । विद्यालय कस्तो होला ? शैक्षिक अवस्था कस्तो होला ? सहज जवाफ आउँछ– ‘विद्यालयका अवस्था भद्रगोल, शैक्षिक अवस्था अस्तव्यस्त, विद्यार्थी संख्या न्यून ।’  यदि तपाईँले डहु माध्यामिक विद्यालय बेथानको बारेमा यो जवाफ दिनुभयो भने गलत हुनेछ । डहु माविको सन्दर्भमा तपाईँको जवाफ हुनुपर्छ– ‘चिटिक्क परेको विद्यालय, अत्यन्त सुव्यवस्थित र गुणस्तरीय शिक्षा, भरिभराउ विद्यार्थी ।’

रामेछापको दुर्गम गाउँ सुनापति गाउँपालिका–४ बेथानको डहु माध्यमिक विद्यालय अहिले नमुना विद्यालय बनेको छ । यो विद्यालय अहिले शैक्षिक अध्ययन भ्रमणको राष्ट्रिय स्तरको गन्तव्यको थलो नै बनेको छ । विद्यालयलाई विद्यार्थी अभाव होइन, विद्यार्थीको कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ । 

डहु माविले गरेको चमत्कारिक प्रगति हेर्न अहिले देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र सरकारी अधिकारीहरू दैनिक जसो आउने गर्दछन् । ‘दैनिकजसो कहीँ न कहीँको टोली आइरहेको हुन्छ, कहिलेकहीँ त तीन चारवटा टोली पनि आउँछन्’, विद्यालयका प्रधानाध्यापक दलबहादुर बल तामाङले भने ।  

डहु मावि बेथानले शैक्षिक क्षेत्रमा सपना जस्तो लाग्ने प्रगति गरेको छ । विद्यालयले १५ वर्षको बिचमा कसैले नसोचेको प्रगति गरेको छ । त्यसैले डहु माविको मोडल सबैको लागि उदाहरण बनेको छ ।

भौतिक र शैक्षिक अवस्था अति नाजुक रहेको सो विद्यालयमा २०६४ सालमा प्रधानाध्यापक जिम्मेवारी सो गाउँका मात्र होइन सोही विद्यालयमा पढेका दलबहादुर बलले लिए । ‘न भवन, न डेक्स बेञ्च, न पर्याप्त विद्यार्थी न गुणस्तरीय शिक्षा, एसएलसीमा सबै विद्यार्थी फेल, त्यस्तो अवस्थामा विद्यालयको प्रधानाध्यापक भएँ, त्यतिबेला प्रधानाध्यापकको जिम्मेवारी दिँदा सबैले खिसी गरेका थिए’, विगत सम्झँदै बलले भने । 

त्यही खिसी दलबहादुरको लागि इख बन्यो, अनि शिक्षा सुधारको लागि काम गर्ने प्रेरणाको स्रोत पनि । ‘त्यो कुरा मलाई नराम्रोसँग गढ्यो, केही गर्नुपर्छ, खिसी गर्नेहरूलाई देखाउनुपर्छ भनेर लागेँ, सायद मलाई समयले पनि साथ दियो, शिक्षक, अभिभावक, विद्यार्थी सहयोगी सबैको साथ भयो, अन्य कुरा पनि मिल्यो । त्यस्तो विद्यालयलाई यो अवस्थामा ल्याउन सकियो’, उनले भने । 

दलबहादुरले जसरी सजिलै प्रगतिको कथा सुनाए त्यति सजिलै भने विद्यालय परिवर्तन भएको होइन । विद्यालय परिवर्तनमा उनको र विद्यालयका शिक्षकको सबै समय खर्च भएको छ । दलबहादुरको त १५ वर्षभन्दा बढीको रात÷दिन यही विद्यालय सुधारमा बितेको छ । आफ्नो घरमा जान समेत भ्याएका छैनन् । कतिपय रात विद्यालयको लागि नसुतेर कटाएका छन् । कतिपय दिन दुनियाँले निराश बनाउँदा पनि केही गरेरै छाड्छु भनेर दौडिएका छन् । त्यसैले त विद्यालय आजको अवस्थामा पुगेको छ । 

दलबहादुर र उनको टीमले लगातार १० वर्षको मेहनतपछि परिणाम देखिन लाग्यो । सो विद्यालयमा पढ्ने विद्यार्थी पहिलाको एसएलसी र अहिलेको एसइई परीक्षामा फेल हुन छाडे । सबै विद्यार्थी पास, पास मात्र होइन सबै विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण । 

कुनैबेला एक÷दुई जना विद्यार्थी पास हुँदापनि हर्ष मनाउने विद्यालय कुनै वर्ष जिल्लाको सर्वोत्कृष्ट विद्यालय हुन नसक्दा चिन्ता गर्ने अवस्थामा पुग्यो । विद्यार्थी पास मात्र गराउन चिन्ता बोक्ने विद्यालय अब कुनै न कुनै विद्यार्थीले एसइईमा ४ जीपीए नल्याउने हुन् कि भन्ने चिन्ता गर्ने अवस्थामा पुग्यो । अनि भएन सपना जस्तो प्रगति ? 

अहिले डहु मावि पुग्ने जोकोही पनि लोभिन्छन् । विद्यालय चटक्क सिँगारेर राखिएको छ । विद्यालयको आँगनमा नै फूल बगैँचा छन् । कुनै विद्यार्थीले ती फूल टिप्दैनन्, भाँच्दैनन् । विद्यार्थीले नै बगैँचा जोगाउँछन्, पानी हाल्छन् । आँगनमा कसैले फोहोर फाल्दैनन् । कतै कसैले झारेका रहेछन् भने जसले देख्यो उसैले टिप्छन् । 
 

प्रतिक्रिया

सम्बन्धित