ओलीबिरुद्धको मोर्चाबन्दीमा नेपाल र खनाल
काठमाडौं । हावादारी, उडन्ते, तिलस्मी र काल्पनिक भाषण गरेर नथाक्ने प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध पार्टी भित्रैबाट कडा बिरोध शुरु भएको छ । पार्टी भित्र सामुहिकतलाई नरुचाउने, एकल निर्णय मात्र गर्न रुचाउने अरुको सल्लाहलाई लत्याउने, आफु मात्र असल अरु सबै खराव भन्ने मान्यता राख्ने ओलीको एकलौटी कार्यशैलीबिरुद्ध नेपाल–खनालको मोर्चा क्रियाशिल भएको हो । हरेक राजनीतिक नियुक्तीमा देखिएको एकलौटीपनबाट चिडिएको नेपाल–खनाल पक्षले मोर्चा खडा गरी पार्टी संगठनमा एकलौटी गरेको भन्दै बिरोध अभियानमा जुटेका हुन् । ओलीबिरुद्धको मोर्चाबन्दीलाई व्यस्थित गर्न मंगलबार र बुधबार राजधानीको एक पार्टी प्यालेसमा आयोजित राष्ट्रिय कार्यकर्ता भेला समेत सम्पन्न गरेका छन् ।
ओलीले संगठनात्मक कार्यशैलीले पार्टीभित्र एकलौटी गरेको भन्दै सो असन्तुष्ट मोर्चाले मदन भण्डारी अध्ययन केन्द्र नामक संस्थाको नाममा करिब चार सय अगुवा नेता कार्यकर्ताको भेला बोलाएका हुन् भेलामा नेपाल, खनालका अतिरिक्त उपमहासचिव घनश्याम भूषाल, सचिव योगेस उपाध्याय र गोकर्ण बिष्टसहित केन्द्रीय सदस्य र सभासद्हरु थिए । ओलीले आफ्नो गुटलाई मजबुद बनाउन भन्दै एक महिनाअघि राजधानीमै गुटको भेला मदन भण्डारी फाउण्डेसनको नाममा गरेका थिए । त्यसको सिको गर्दै नेपाल–खनाल समुहले पनि ओलीबिरुद्ध योजनाबद्ध ढंगले अघि बढ्न गुटगत भेला गरेको हो । ‘संविधानको कार्यान्वयन ः राष्ट्र र पार्टी निर्माण’ शीर्षक दिएर गरिएको अन्तरक्रियाको उद्घाटन गर्दै नेपालले सरकारमा बसेर ओली गुटले कार्यकर्तालाई पैशाले किन्न खोजेको, धम्की दिएको र आश्वासन वाड्ने गरेको आरोप लगाएका थिए ।एमालेका एक सांसदका अनुसार नेपालले पार्टी नेतृत्वमा कुनैं पनि बिषयमा छलफल र सल्लाह हुने नगरेको बिदेश बिभाग प्रमुखको जिम्मेवारी आफुलाई दिए पनि आफुलाई थाहै नदिएर प्रधानमन्त्रीले शक्ति देखाएर जसलाई पायो त्यसलाई चीन लगायतका देशमा पठाउने गरेको गुनासो गरेका थिए ।
उनले पार्टी भित्रको असन्तुष्टी, अविश्वास चुलिएको र पार्टी नेतृत्वले गरेका क्रियाकलाप अनुचित भएकोले यसले बिष्फोटको रुप लिने चेतावनी समेत दिएका थिए ।महासचिव इश्वर पोख्रेलले नेतृत्व गरेको संगठन बिभागले आफुलाई भोट नदिएकै आधारमा छानि–छानि पार्टी सदस्यहरुको नाम हटाएको, सल्लाह र छलफल नैं नगरी सदस्यता बितरण गर्ने गरेको, जनवर्गिय संगठनलाई आफ्नो पक्षमा पार्न आश्वासन, धम्की र पैशाले खरिद गर्न खोजेको सम्म पाईएको भेलामा जनाईएको थियो ।
अर्का नेता पूर्ब प्रधानमन्त्री एवम् पूर्ब अध्यक्ष झलनाथ खनालले पनि ओलीले नेतृत्व सम्हालेपछि बैठक भन्न लायकको केन्द्रीय कमिटी बैठक नभएको, गतिलो एउटा पनि निर्णय हुन नसकेको, निर्णय केन्द्रीय समितिमा हुने नगरेको, नेतृत्वमा छलफल नैं हुन छाडेको र पार्टीका सबै निकाय कमजोर भएको आरोप लगाएका थिए ।प्रधानमन्त्री ओलीले डेढ महिना अघि राजदूत नियुक्तिमा सिफारिस गर्दा आफ्ना गुट निकटकालाई मात्र गरेको, राजनीतिक नियुक्तिमा एकलौटी गरेको जस्ता बिषयमा नेपाल–खनाल समूह एकदमै चिडिएको हो । त्यसमा पनि ओलीले आफ्नो सत्ताको आयु टिकाउन मधेशी मोर्चासँग वार्ता गर्न भन्दा पनि गालि गर्न बढी समय खर्चिएको भन्दै असन्तुष्टी जनाएका छन् । आफ्नो आयु लम्ब्याउनका लागि माओवादी केन्द्रसँग अनावश्यक सम्झौता गरेको भन्दै उनीहरुले बिरोध समेत जनाएका छन् । ओलीबिरुद्धको मोर्चाबन्दीलाई मजबुद बनाउदै नेपालले ओलीलाई सत्ताबाट बहिर्गमन गराउदै पार्टी संगठनमा पनि कमजोर बनाउने रणनीतिमा उनीहरु लागेका हुन् ।
ओलीले आफ्नो गुट बमोजिमको काम गर्न महासचिव इश्वर पोख्रेललाई पार्टी संगठनको ठेक्का दिएका छन् भने सरकारमा अर्थमन्त्री बिष्णु पौडेललाई जिम्मा दिएका छन् । माओवादीसँगको सम्बन्धलाई सुदृढ बनाउन बामदेव गौतमलाई जिम्मेवारी दिएपछि ओली निकटका शंकर पोखरेल चिडिएका छन् । पार्टीको सचिवमा पराजित भएका पोखरेल संसदीय चुनावमा समेत पराजित भएपछि ओलीलाई उनलाई पछि पार्दै बिष्णु पौडेललाई अघि सारेका छन् ।
प्रतिक्रिया