फेरि फुट्यो माओवादी, वैद्यलाई छाडेर प्रचण्डसँग एकता गर्दै बादल

baidhaya and badalकाठमाडौं एकीकृत नेकपा माओवादीसँग अलग्गिएर छुट्टै पार्टी बनेको मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टी पुनः फुटेको छ। एमाओवादीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएपछि वैद्यलाई एक्ल्याएर रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा केन्द्रीय समिति पुनगर्ठन गरिएको हो। पुनर्गठित समितिमा वैद्यलाई राखिएको छैन। झण्डै २ सयको संख्यामा रहेको केन्द्रीय समितिमा १३० जनाको उपस्थितिका बीच वैद्य बिनाको समिति पुनर्गठन गरिएको हो। वैद्य नेतृत्वको माओवादी फुटेको यो दोस्रो पटक हो। यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह लग्गिसकेको छ। पार्टी एकताका लागि अध्यक्ष वैद्य तयार नभएपछि महासचिव बादलले बैशाख २८ गते छुट्टै केन्द्रीय समिति बैठक बोलाएका थिए । तर, पछि वार्ताका क्रममा वैद्य लचिलो बनेपछि उक्त बैठक अनौपचारिक भेलामा परिणत भएको थियो। तर पनि वैद्य एकताका लागि तयार नभएपछि उनलाई छोडेर भए पनि एकतामा जान बादलको समूह तयार भएको हो। यता वैद्यले भने शनिबार एक विज्ञप्ति जारी गर्दै बादलले बोलाएको बैठकलाई अनधिकृत रुपमा बोलाइएको गुटको बैठकको संज्ञा दिएका छन्। बादलले आफ्नै अध्यक्षतामा केन्द्रीय समिति बनाएर औपचारिक रुपमा पार्टीको विभाजन गरिएको बताएका छन्। ६ गते एकीकरण हुँदै एकीकृत नेकपा माओवादीबाट छुट्टिएर गठन भएका विभिन्न माओवादी पार्टीबीच जेठ ६ गते एकीकरण हुने भएको छ। झन्डै आधा दर्जन पार्टीले संयुक्त केन्द्रीय समिति बैठक बसी पार्टी एकता घोषणा गर्ने भएका हुन्।पार्टी एकताको विधि र प्रक्रिया तय गर्न पाँच सदस्यीय संयोजन समिति गठन गरिएको छ। समितिमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालका साथै रामबहादुर थापा, मणि थापा, जयपुरी घर्तीमगर र वसन्त घर्तीमगर सदस्य छन्। उक्त समितिले नै पार्टी एकताको सम्पूर्ण कार्यविधि तय गर्नेछ। त्यसका लागि सबै माओवादी पार्टीका नेताले आन्तरिक छलफल तीव्र पारेका छन्। शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले एकताको जिम्मेवारी अध्यक्ष दाहाललाई दिएको प्रवक्ता दीनानाथ शर्माले बताए। पछिल्लो समय माओवादी शक्तिबीच पार्टी एकता प्रयास घनिभूत भइरहेका बेला अध्यक्ष दाहाललाई उक्त जिम्मेवारी सुम्पिएको शर्माले बताए।

प्रतिक्रिया

सम्बन्धित