गोयबल्स शैलीमा कांग्रेस विरुद्ध भ्रम छर्दै ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गोयबल्स शैलीमा प्रतिस्पर्धी दल नेपाली कांग्रेसविरुद्ध मतदाताहरूमा भ्रम छर्ने प्रयास गरिरहेका छन् । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले अधिनायकवाद ल्याउने भित्री तयारी गरेको खुलासा कांग्रेसले गरेपछि ओली आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् ।
ओलीका सम्पूर्ण सम्बोधन कांग्रेस विरुद्ध हुने गरेका छन् । ओलीले कांग्रेसलाई मात्रै होइन कांग्रेसका शीर्ष नेताहरूको चरित्र हत्यासम्म गर्न चुकेका छैनन् ।
प्रधानमन्त्री समेत बनिसकेका जिम्मेवार नेताले व्यक्तिगत तहमा पुगेर कांग्रेसका नेताहरूविरुद्ध लाञ्छना लगाउने कार्यको विरोध भइरहेको छ । ओलीले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, महेश आचार्य, मीनेन्द्र रिजाल, गगनकुमार थापासहितका नेताहरूविरुद्ध आक्रोश व्यक्त गर्न थालेका छन् । ओलीले कांग्रेस नेतृत्वको वर्तमान सरकारले गरेका निर्णयहरू पनि मंसिर २१ गतेको निर्वाचनपछि बन्ने कम्युनिष्ट सरकारले उल्टाइदिने भनेर धम्की दिइरहेका छन् ।
ओलीले सुरक्षाकर्मी र कर्मचारीहरूलाई कम्युनिष्टहरूको पक्षमा काम नगरे मंसिर २१ गतेपछि बन्ने कम्युनिष्ट सरकारले कारबाही गर्ने भनेर धम्की दिइरहेका छन् । यो सबै कांग्रेसको डरको उपजमात्रै रहेको विश्लेषण हुन थालेको छ । दुई ठूला कम्युनिष्ट पार्टी मिलेर बनेको वाम गठबन्धन मिल्दा पनि नेपाली कांग्रेसलाई कुनै असर पार्ने नदेखेपछि ओलीलाई ठूलो आघात पुग्न थालेको छ ।
ओलीले चुनावी माहोललाई आफ्नो पक्षमा बनाउन मंसिर २१ गतेपछि कम्युनिष्टहरूको सरकार बन्ने दाबी गरिरहेका छन् । त्यति मात्रै होइन ओलीले मंसिर २१ गतेपछिको सरकारको प्रधानमन्त्री आफू बन्ने भनेर दाबी गरिरहेका छन् ।
तर, ओलीले के बुझेका छैनन् भने यो देशमा नेपाली कांग्रेस जस्तो ठूलो लोकतान्त्रिक शक्ति पनि छ । ओलीले कांग्रेसलाई भुलेका त छैनन् तर, अहिले आएर भुलेको जस्तो गरेका छन् । प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने सर्वेक्षणहरूले देखाइ रहेको छ । ओली प्रधानमन्त्री बन्ने कुनै सवाल बन्दैन ।
बहुमत नआएपछि मंसिर २१ गतेपछिको कांग्रेसबाट प्रधानमन्त्री बन्ने अवस्था पनि आउन सक्छ । ओलीले आफ्नै वाम गठबन्धनका प्रमुख पात्र पुष्पकमल दाहाल प्रचण्डलाई देख्न छाडेका छन् । प्रधानमन्त्री बन्ने सपना देखेर सबैलाई धम्काइ रहेका ओलीलाई सबैभन्दा ठूलो चुनौती प्रचण्ड नै हुने एमाले स्थायी समितिका एक सदस्य बताउँछन् ।
कानूनी शासनको कुरा गर्दै आएका ओलीले उमेश गिरी जस्ता आपराधिक पृष्ठभूमिका नेताहरूलाई एमालेमा भित्र्याएका छन् । ओलीले दीपक मनाङ्गे जस्ता गुन्डा नाईकेलाई जिताउन ठूलो प्रयास गरिरहेका छन् ।
ओली अहिले जसरी पनि एमालेलाई ठूलो दल मात्रै बनाउने प्रयासमा छन् । ओलीको योजना बुझेका प्रचण्डले एमालेलाई ठीक साइजमा राखेर मंसिर २१ पछि कांग्रेससँग मिलेर सरकार बनाउने तयारीमा रहेको स्रोतको भनाई छ । कांग्रेस पनि ओलीलाई कुनै पनि हालतमा प्रधानमन्त्रीको कुर्सी दिने पक्षमा छैन ।
कांग्रेसले बरु प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सी सुम्पेर भएपनि संसदमा विपक्षीको बेञ्चमा राख्नेछ । ओली यो कुरा बुझेरै प्रचण्डलाई उकासी रहेका छन् । ओलीले माओवादी केन्द्रका धेरै उम्मेदवारहरूलाई हराउनका लागि सर्कुलर गरेको पनि खुलासा भएको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ
प्रतिक्रिया