डेढ महिना वित्यो, अझै अन्यौल

congress flagकाठमाडौं : मुलुककै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको डेढ महिना बित्दासमेत नौ जिल्लाको अधिवेशन टुंगो लाग्न सकेको छैन। आन्तरिक विवादका कारण महोत्तरी, धनुषा, सिरहा, पर्सा, डोल्पा, बझाङ, कञ्चनपुर र सिन्धुपाल्चोकको अधिवेशन हुन सकेको छैन भने बराबरी मतका कारण संखुवासभामा पनि सभापति टुंगो लाग्न अझै बाँकी छ। पार्टी विधानको व्यवस्थाअनुसार सभापतिका दुवै उम्मेदवारको मत परिणाम बराबरी भए गोलाप्रथाबाट टुंगो लगाउनुपर्ने उल्लेख छ। सभापतिका दुवै प्रत्याशीले महाधिवेशनपछि परिणाम टुंगो लगाउने समझदारी गरेका थिए। तर, अहिलेसम्म सभापति को हो भन्ने टुंगेको छैन। त्यस्तै, आन्तरिक विवादका कारण महाधिवेशन सम्पन्न भएको डेढ महिना बित्दा पनि धनुषा जिल्लाको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छैन। तत्कालीन संस्थापन पक्ष र अर्को पक्षबीचको विवादले धनुषा– ५ को क्षेत्रीय अधिवेशन रोकिएको हो। फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनअघि सहमति नजुट्दा धनुषा–५ बाट प्रतिनिधित्व नै हुन सकेन। अधिवेशन हुन बाँकी रहेका महोत्तरी, सिरहा, पर्सासहित जिल्लामा पनि विवाद जारी छ। सिन्धुपाल्चोकको भने अधिवेशन गर्ने स्थान विवादका कारण रोकिएको थियो। केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले झण्डै एक दर्जन जिल्लाको अधिवेशन बाँकी रहेको बताउँदै छिट्टै मिति तोक्ने तयारी भइरहेको जानकारी दिए। त्यसैगरी काठमाडौं महानगरपालिकाका साथै कतिपय नगर समिति र महासमिति सदस्यको पनि टुंगो लाग्न बाँकी छ। केन्द्रीय निर्वाचन समितिले बाँकी क्षेत्र र जिल्ला अधिवेशन गराउन चासो देखाए पनि नगर र महासमितिको टुंगो लगाउने अधिकार पार्टीलाई नै दिने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित