नेविसंघमा जितजंगलाई अध्यक्ष बनाउन दबाब
काठमाडौं । नेपाल विद्यार्थी संघमा रञ्जित कर्णले नेतृत्व सम्हालेपछि हुँदै आएको किचलोको अब अन्त्य हुने भएको छ । नेपाली कांग्रेसको भर्खरै सम्पन्न १३औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिई पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई सहयोग गरेका विद्यार्थी नेता जितजंग बस्नेत नेविसंघ अध्यक्षका लागि बलिया दाबेदारका रुपमा देखा परेका छन् । नेविसंघमा २०६४ पछि महाधिवेशन हुनसकेको छैन । नवौं महाधिवेशनपछि निर्वाचित नेपाली कांग्रेसको पहिलो बैठकले लामो समयदेखि नेविसंघ, महिला संघ र तरुण दलको अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय गरेको थियो ।
देउवाले भातृसंस्थाको अधिवेशन गर्न पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, प्रकाशशरण महत, एनपी साउद र मीन विश्वकर्मालाई जिम्मा दिएका छन् । स्रोतका अनुसार रञ्जित कर्णका कारण नेविसंघ शिथिल बनेको ठहर गर्दै जीतजंगलाई अध्यक्ष बनाउने तयारी भइरहेको छ ।
जितजंग अध्यक्ष बन्ने निश्चित भएपछि उनलाई बद्नाम गर्न नैनसिंह महरले शंकरदेव क्याम्पसमा कर्णसँग हातेमालो गरी विवाद निम्त्याएको एक विद्यार्थी नेताले बताए । लामो समयदेखि नेविसंघमा सक्रिय बस्नेत जुझारु र अब्बल विद्यार्थी नेता मानिन्छन् । विगतमा नेविसंघको विभिन्न पदमा बसेर काम गरिसकेका बस्नेत नेपाली कांग्रेसका अधिकांश नेताहरुको रोजाइमा परेका कारण उनी अध्यक्ष बन्ने पक्का पक्की छ,,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया