ओली सरकार गिराउन एमालेभित्रै खेल ?

Madhav Nepalकाठमाडौं । आफ्नो सरकार ढाल्न आफ्नै दल नेकपा (एमाले)भित्रैबाट ठूलो षड्यन्त्र भएको चाल पाएका प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले एक एकलाई ठेगान लगाउने चेतावनी दिएका छन् । विशेष गरेर वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओली सरकार ढाल्न सक्रिय भएको चाल पाएका ओलीले पार्टीको विभाग विस्तारको विषय थाँती राखेका छन् । विभाग गठन हुँदा पार्टीभित्र असन्तुष्टिले चरम रुप लिने भएकाले तत्काल विभाग गठनको विषय यथावत राखेको स्रोतको भनाइ छ ।

  एमालेको अधिकांश विभाग रिक्त छन् । ती विभागहरुले काम गर्न सकेका छैनन् । नेपाल समूहलाई जिल्याउन ओलीले विभागको अन्तिम तयारी गरे पनि यो विषयलाई थाँती राखेका हुन् । नेपाल समूहले कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग अलिक धेरै हिमचिम बढाएको आरोप छ । नेपाल समूहले ओलीलाई सत्ताबाट गलहत्याएर पार्टी कब्जाको रणनीतिमा लागेको छ ।

  नेपाल समूह कांग्रेसलाई भित्रभित्रै सहयोगमा लागेको एमालेकै ओली समूहका नेताहरुले आरोप लगाएका छन् । यति मात्रै होइन माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकारको कुरा उठाएर बेमौसमको बाजा बजाइ रहेका छन् । नेपाललाई मात्रै होइन ओलीले पनि राष्ट्रिय सहमतिको सरकारभित्रको राज के हो भनेर बुझेका छन् । अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना छैन र कांग्रेस ओली नेतृत्वको सरकारमा जाँदैन पनि । यो बुझेका नेता नेपालले ओली सरकार गिराउने खेलमा आफूलाई यही बहानामा सक्रिय बनाएका हुन् । राष्ट्रिय सहमतिको सरकारको विषय उठाउँदा सरकार गिराउन लागेको आरोप नलाग्ने भएकाले यसरी कुरा उठाइएको आली निकटका एक नेताले बताए ।

  ‘कांग्रेससँग भन्दा पनि यो सरकारलाई एमालेभित्रैबाट असहयोग सुरु भएको छ’, स्रोतले भन्यो–‘सरकार गिराउने खेलमा माधव नेपाल समूह सक्रिय भएर लागेको छ ।’ नेपाल समूहले प्रत्येक दिन एमालेका गोप्य भेलाहरु गरिरहेको छ । ती गोप्य बैठकमा नेपाल आफू सहभागी नभएपनि आफ्ना निकटकालाई सहभागी हुन पठाउने गरेका छन् । नेपाल समूहका नेताहरुले पनि ओली सरकारविरुद्ध सुस्तसुस्त प्रहार गरिरहेको छ । हुन त नेता नेपालले पनि ओली सरकारलाई प्रहार गरिरहेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको आलोचना गर्नुका साटो एमालेभित्रकै नेताहरुले सरकारको आलोचनामा उत्रिएको देख्दा ‘...देख्नेलाई लाज’ भन्ने उखान चरितार्थ भएको छ,यूनाइटेड पोस्टमा खबर छ   । उता, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि ओली सरकारलाई गिराएर आफ्नै नेतृत्वमा सरकार बनाउने भित्री खेलमा लागेका छन् । दाहालले कांग्रेसका सभापति देउवासँग पटक पटक भेट गरेर प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन् । तर, देउवाले संसदीय दलको निर्वाचन नसक्किदासम्म आफूले सरकारको विषयमा केही बताउन नसक्ने आश्वासन दिएका छन् । स्रोतका अनुसार पुष्पकमल दाहालले आफू छ महिनाका लागि भए पनि एक पटकका लागि प्रधानमन्त्री बन्ने ठूलो धोको रहेको आफू निकटका नेताहरुलाई बताउने गरेका छन् । अहिलेको सरकारमा राम्रा र आकर्षक मन्त्रालय पाएको एमाओवादीले अब बन्ने नयाँ सरकारमा यति धेरै र राम्रा मन्त्रालय पाउने छैन । तरपनि आफ्नो व्यक्तिगत स्वार्थले गर्दा दाहाल पनि ओली सरकार गिराएर अर्को सरकार बनाउने गोप्य योजनामा लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित