चर्चित अनुहार आरक्षण कोटामा पराजित

12032016084928NC-1000x0शेरवहादुर बहुमत नजिक काठमाडौं  : नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट केही पुराना र चर्चित नेताहरु आरक्षण कोटामा पनि पराजित भएका छन्। राष्ट्रिय राजनीति, कांग्रेसको आन्तरिक गतिविधि र स्थानीयस्तरमा समेत निकै धेरै काम गरेका नेता नै आरक्षण कोटाबाट समेत केन्द्रीय सदस्य हुन असफल भएका हुन्। आरक्षण कोटामा पनि उम्मेदवारको सङ्ख्या धेरै रहेकाले प्रतिस्पर्धा भने कडा भयो। महिलातर्फ छ पदका लागि ३८ जनाको उम्मेदवारी परेको थियो। त्यसमध्ये प्रभावशाली नेतृहरु महिला सङ्घकी केन्द्रीय अध्यक्ष तथा पार्टीको केन्द्रीय सदस्य भइसकेकी सांसद् मिना पाण्डे र उमा रेग्मी, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्वकीय सचिव मृदुला कोइराला, नेविसङ्घकी पूर्वमहामन्त्री प्रतिमा गौतम पराजित भए। त्यसैगरी सांसद् शारदा पौडेल, ट्रेड युनियन राजनीतिबाट पार्टी राजनीतिमा आएकी रिता खनाल, नेविसङ्घ, महिला सङ्घकी श्रीमती मन्जु खाँण, नेविसङ्घका पूर्वसहमहामन्त्री सृजना अधिकारी पनि महिला कोटाबाट केन्द्रीय सदस्य बन्न सकेनन्। । जनजातितर्फको कोटा नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष, काठमाडौं पूर्वजिल्ला सभापति, भीमसेनदास प्रधान पराजित भए। त्यसैगरी पटक–पटक मन्त्री, सांसद् र केन्द्रीय सदस्य भइसकेका दुर्योधन सिंह थारु, सोलुखुम्वुका जिल्ला सभापति तथा सांसद् आङ्गेलु शेर्पा, पूर्वसांसद् तथा नेपाल तरुण दलका पूर्वमहासचिव महादेव गुरुङलगायतका नेताहरु पराजित भए। जनजाति महिलातर्फ दुई पदका लागि १२ जनाले प्रतिस्पर्धा गरेकोमा सांसद् उषा गुरुङ भने पराजित भइन्। दलित आरक्षणमा दलित सङ्घको केन्द्रीय अध्यक्ष तथा मन्त्री भइसकेका सांसद् खड्ग बस्याल, राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा रुकुमका पूर्वजिल्ला सभापति मानवहादुर नेपाली, पूर्वसांसद् शम्भु हजारा दुसाद, एकपटक मनोनित र एकपटक आमन्त्रित केन्द्रीय सदस्य भएका प्रतापराम लोहार पनि पराजित भए। दलिततर्फकै महिला कोटामा यसअघिकी केन्द्रीय सदस्य र अहिले सांसद् रहेकी कविताकुमारी सरदार वाँतर पराजित भइन्। दलित महिलाको दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो भने सांसद् तथा पूर्वकेन्द्रीय सदस्य सुजाता परियार र पूर्वसांसद लक्ष्मी परियार चयन भए। नेविसङ्का केन्द्रीय अध्यक्ष तथा सांसद् रन्जित कर्ण मधेसीको आरक्षणबाट पनि केन्द्रीय सदस्य बन्न सकेनन्। त्यस्तै पूर्वकेन्द्रीय सदस्य र अहिलेका सांसद् रामचन्द्र तिवारी, कपिलवस्तुका जिल्ला पूर्वसभापति र पूर्वसांसद् सुधाकर पाण्डे पनि पराजित भए। मधेसी महिलाको कोटाबाट पराजित हुनेमा पूर्वकेन्द्रीय सदस्य र अहिलेकी सांसद् मिनाक्षी झा पनि परेकी छन्। मुस्लिमतर्फको कोटाबाट भने मुस्लिम सङ्घको अध्यक्ष अब्दुल सतार नै पार्टीको केन्द्रीय सदस्य बन्न सकेनन्। मन्त्री, सांसद् र केन्द्रीय सदस्य भइसकेका मोहम्मद अफताव आलम र सांसद् मोहम्मदी सिद्दिकी पनि पराजित भए। कांग्रेसमा समावेशी आरक्षणतर्फबाट २२ जना निर्वाचित हुने व्यवस्था छ। कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबारसम्मको मत परिणामले सभापति शेरवहादुर देउवालाई सुविधानजक बहुमतमा पुर्‍याएको छ । सभापतिसहित तीन पदाधिकारी र २२ केन्द्रीय सदस्यको नतिजा आउँदा देउवा प्यानलमा सभापति सहित १५ सदस्य र पौडेल प्यानलमा महामन्त्री, कोषाध्यक्षसहित १० सदस्य छन् । शनिबार महिला, आदिवासी जनजाति, मधेसी र दलिततर्फको समावेशी कोटाका २१ केन्द्रीय सदस्यको नतिजा आएको छ । मुस्लिम तर्फका एक सिटमा देउवा प्यानलका फरमुल्ला मन्सुर यसअघिनै निर्वाचित भइसकेका छन् । महिला आरक्षतर्फको ६ केन्द्रीय सदस्यमा देउवा प्यानलका चार र पौडल प्यानलका दुई निर्वाचित भएका छन् । देउवा प्यानलकी डिला संग्रौला पहिलो नम्वरमा निर्वाचित भएकी छिन् । उनी महिला संघकी अध्यक्ष समेत हुन । देउवा प्यानलकै पुष्पा भुषाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र पौडेल प्यानलबाट कमला पन्त र सरिता प्रसाई विजयी भएका छन् । बस्नेत, न्यौपाने, पन्त र प्रसाई सांसदसमेत हुन । आदिबासी जनजातिको खुला ३ पदमा देउवा प्यानलबाट बहादुरसिंह लामा, पौडेल प्यानलबाट चीनकाजी श्रेष्ठ र नेविसंघका पूर्वअध्यक्ष कल्याण गुरुङ निर्वाचित भएका छन् । श्रेष्ठले ९ सय ४७, लामाले ७६७ र गुरुङले ७ सय ३४ मत ल्याए । लामा सांसद हुन । श्रेष्ठ पूर्वमन्त्री एवं संसदीय दलका प्रमुख सचेतक हुन् । आदिवासी जनजाति महिला २ पदको आरक्षणमा सीता गुरुङ र रत्ना शेरचन विजयी भएका छन् । गुरुङ देउवा प्यानल र शेरचन पौडेल प्यानलका हुन् । दुवै सांसद हुन् । १२ औं महाधिवेशनमा पनि यीनै दुई यहि कोटाबाट निर्वाचित भएका थिए । मधेसी ३ पदको खुला केन्द्रीय सदस्यमा देउवा प्यानलका अजय चौरसिया, महेन्द्र यादव र पौडेल प्यानलका रामकृष्ण यादव निर्वाचित भएका छन् । चौरसियाले १३४१, महेन्द्र यादवले १२३६ र रामकृष्ण यादवले १२०० मत पाएका छन् ।मधेसी कोटाबाट निर्वाचित रामकृष्ण यादव नयाँ अनुहार हुन । उनी पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सांसद पनि हुन् । मधेसी २ पदको महिला आरक्षणमा किरणदेवी यादव र पार्ववती डिसी चौधरी विजयी भएका छन् । यादव सबभन्दा बढी मत ल्याई विजयी भएकी छिन् । प्रत्यक्ष सिटमा निर्वाचित सांसद समेत रहेकी यादव पौडेल प्यानलकी हुन् । देउवा प्यानलबाट उम्मेदवार भएकी चौधरी पनि प्रत्यक्ष सिटमा निर्वाचित सांसद हुन् । आरक्षण दलित ३ को खुला पदमा जीवन परियार, मीन विश्वकर्मा र मानवहादुर विश्वकर्मा विजयी भएका छन् । तीनै जना सांसद हुन् । परियार १४८१, मानबहादुर १४०२ र मिन १३१३ मत ल्याई विजयी भएका हुन् । परियार पौडेल प्यानलका हुन् भने मानवहादुर र मीन देउवा प्यानलका हुन् । मानवहादुर केही समयअघि मात्रै संस्थापन छाडेर देउवा प्यानलमा प्रवेश गरेका हुन् । पछिल्लोपटक संस्थापन छाडेर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा मन्सुर र मानवहादुर हुन् । दलित आरक्षण महिला २ पदमा लक्ष्मी परियार र सुजाता परियार विजयी भएका छन् । यी दुवै देउवा प्यानलका हुन् । केन्द्रीय कार्यसमितिको सदस्यका लागि खुला र आरक्षण तर्फ गरी ४६ पदका लागि भइरहेको मतगणनामा अब ३९ सदस्यको परिणाम आउन बाँकी छ । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार आइतबार बेलुका सम्म सवैको मत परिणाम आउन सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित