कार्यवाहकको इतिहासलाई तोड्दै देउवा काँग्रेस सभापतिमा निर्वाचित
काठमाडौ। नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा भारी मतले विजयी भएका छन्। दोस्रो चरणको मतदानमा सभापति पदका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल चुनावी मैदानमा थिए। मतपरिणाम अनुसार शेरबहादुर देउवाले १८२२ मत र रामचन्द्र पौडेलले १२९६ मत ल्याएका छन् भने २२ मत बदर भएको छ।पहिलो चरणमा ३१ सय ४८ मत खसेकामा दोस्रो चरणमा पहिलो भन्दा ४८ मत कम ३१ सय ४० मत खसेको छ । यसअघि सभापतिका तीन उम्मेदवारमध्ये देउवाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान भएको थियो। तेस्रो स्थानको मत पाएर सभापतिको रेसबाट कृष्णप्रसाद सिटौला बाहिरिएपछि देउवा र पौडेल बिचमा पुनः मतदान भएको हो।
कार्यवाहक सभापति नै पार्टी सभापति बन्दै आएको काँग्रेसको इतिहासलाई तोड्दै देउवा नेपाली काँग्रेसका सभापति बनेका हुन्। तेस्रो पटकको प्रयासमा देउवा पार्टी सभापति बनेका हुन्। यसअघी गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालासँग पराजित भएका देउवाले यो पटक भने कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति बनेका हुन्। उनी सभापति बन्दै गर्दा १९ बर्षपछि कोइराला परिवारको हातबाट काँग्रेसको कमाण्ड देउवाको हातमा गएको हो। देउवा यसअघी २०५९ सालमा काँग्रेसबाट फुटेर बनेको नेपाली काँग्रेस प्रजातान्त्रिकका सभापति भएका थिए।
पछि पार्टी एकिकरण पछि उनी काँग्रेसको बरिष्ठ नेताको हैसियतमा थिए। एकिकरणयता पनि पार्टी सभापतिमा उमेद्वार भएपनि उनी निर्वाचित हुन सकेका थिएनन्। मतपरिणाम सार्वजनिक भएपछि देउवा पक्षीय कार्यकर्ताहरुले राष्ट्रिय सभागृहमा खुसी साँटेका छन्। देउवा पक्षीय नेताहरुले अब पार्टीलाई अझ एकिकृत र सुदृढ बनाएर लैजाने बताएका छन्।
प्रतिक्रिया