कांग्रेसमा कुन प्यानल बलियो ?
कुमार भण्डारी/ काठमाडौं । मुलुककै सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको १३ औं महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रम आइतबार केन्द्रिय समितिले सर्वसम्मत पास गरिसकेको छ । पार्टीको नेतृत्व लिन कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजाता कोइराला आकांक्षी बनेका छन् । संस्थापन र देउवा पक्षका नाममा गाउँ तहसम्म विभाजनको रेखा कोरिएको छ । प्यानल बनाउने क्रममा भागवण्डा र गुटबन्दी झन–झन तीब्र हुँदै गएको छ । नेतै पिच्छेका सम्पर्क कार्यालय खोलिएका छन् । योग्यता, क्षमता र प्रस्पिर्धाबाट जो नेतृत्वमा आउँछ उसले पार्टीको मात्रै होइन, मुलुककै नेतृत्व गर्नुपर्ने चुनौती छ ।
यहि अवस्थामा युवा नेताहरुलाई समेटेर नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिका लागि औपचारिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सभापतिका दावेदार सिटौलाको प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको नाम सार्वजनिक भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसबाट सिटौलाले बुधबार आफ्नो प्यानलको घोषणा गरेका हुन् ।
प्यानल घोषणाका क्रममा महामन्त्री सिटौलाले देशलाई जोड्ने र संविधान कार्यान्वयन गर्ने एजेण्डाका साथ आफ्नो प्यानल बनेको बताए । सिटौलाले भने–‘हाम्रो विचार, लक्ष्य र गन्तव्य मिलेको छ, दिगो शान्ति, सम्वृद्धि र मुलकलाई स्वतन्त्र, सार्वभौम राख्दै सबैलाई जोडेर हिंड्न सक्छौं ।’ सिटौलाले ‘लिगेसी’ को कुुरा गर्ने अधिकार कसैलाई पनि नभएको बताए । संस्थापन, गैरसंस्थापन भन्न नहुने बताउँदै लिगेसीका नाममा कांग्रेस कुनै परिवारमा कैद हुन नसक्ने तर्क राखे । सिटौलाले कसैले चाहँदैमा कांग्रेस अब गणतन्त्र, संघीयता, समानुपातिक समावेशीबाट पछि र्फकन नसक्ने पनि बताएका थिए । त्यसैगरी कार्यक्रममा युवा नेता थापाले सभापतिका उम्मेदवार सिटौलालाई नयाँ संविधान निर्माण प्रक्रियाको ‘आर्किटेक्ट’ को संज्ञा दिए । उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनेदेखि संविधान कार्यान्वयनमा सिटौलाको भूमिका महत्वपूर्ण रहेको चर्चा गरेका थिए । महामन्त्रीका उम्मेदवार थापाले भने–‘कांग्रेसले पटक–पटक जित्यो तर, जितलाई जोगाउन सकेन । हामी अब फेरि आन्दोलन गर्न नपर्ने गरी यो जितलाई जोगाउन चाहन्छौं ।’
युवा नेता थापाले सबैजना कांग्रेस नै भएको भन्दै केहीलाई संस्थापन र अरुलाई गैरसंस्थापन भन्ने सर्टिफिकेट कसले दियो भनेर रामचन्द्र पौडेलप्रति लक्षित गरी प्रश्न गरेका थिए । आफूहरु सडकबाट उठेर आएको र पहाडजस्तै भएको बताउँदै थापाले भने–‘कुहिनो बजार्न थाल्ने हो भने कुहिनो भत्किछ तर, पहाड भत्किदैन ।’ त्यसैगरी सिटौला टीमका कोषाध्यक्षका उम्मेदवार उमाकान्त चौधरीले पार्टीमा देखिएको गुटबन्दी र ६०÷४० को भागवण्डा अन्त्य गर्न आफूहरु अगाडि आएको बताए ।
सिटौलाले अधिकांश केन्द्रीय सदस्यमा युवा नेतालाई समेट्ने बताएका छन् । त्यसैले सिटौलाको युवा जोडी नै शक्तिशाली हुने कांग्रेसका कार्यकर्ताहरु बताउँछन । अहिले नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी उपसभापति रामचन्द्र पौडेललाई सभापतिको प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका छन् । कांग्रसका युवाहरुले बीपीको राजनीतिक दर्शनलाई कार्यान्वयन गर्न, गिरिजाप्रसाद कोइरालाको शान्तिप्रक्रियाको राजनीतिक कार्यदीशालाई पूरा गर्न र संविधानसभाद्धारा जारी संविधान कार्यान्वयन गर्न पनि कृष्णप्रसाद सिटौलालाई नैं संस्थापनपक्षबाट सभापतिमा उम्मेदवार बनाउन आग्रह गरेका छन् । राजधानीमा शुक्रबार भेला भएका संस्थापन पक्षधर युवा नेताहरुले उपसभापति रामचन्द्र पौडेललाई पार्टीको नेतृत्व युवामा हस्तान्तरण गर्न आग्रह गर्दै पार्टीमा अभिभावकत्व ग्रहण गर्न समेत आग्रह गरेका थिए ।
नेपाल महिला संघकी अध्यक्ष डा.डिला संग्रौला, पूर्ब मन्त्री जनकराज गिरी, काभ्रे कांग्रेसका निवर्तमान सभापति शिवप्रसाद हुमागाईं, जेसिसका पूर्ब अध्यक्ष एवम् चितवनका नेता दिनेस कोइराला, नेबिसंघका केन्द्रीय सदस्यहरु, सिन्धुपाल्चोकका बलदेव तिम्सिना, खोटाङका दिनेस राई, नेपाल तरुण दलका केन्द्रीय सदस्य कालिकोटका नारायण भट्टराई, गोरखाका जनार्दन अर्याललगायत डेड सय बढी महाधिवेसन प्रतिनिधिहरुले सिटौलालाई पार्टी सभापति बनाउनु पर्ने बताएका छन् । यसअघि सभापतिमै केन्द्रीय सदस्य सुजाता कोइरालाले बुधबार नै मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेकी छिन् ।
उनको प्यालनमा कसैको पनि नाम सार्वजनिक गरिएन । तर, उनले चुनाव जितेपछि मेरो प्यानल कत्रो र कस्तो रहेछ थाहा पाउनु हुनेछ भन्ने तर्क गरिन् । पत्रकार सम्मेलनमा महाधिवेशन प्रतिनिधिहरु दावा गुरुङ र मोती श्रेष्ठ मात्र उपस्थित थिए । यता संस्थापन पक्षबाटै रामचन्द्र पौडेलले कोषाध्यक्षबिनै प्यानल घोषणा गरेका छन् । पौडेलको प्यानलमा बीपी पुत्र शशांक कोइराला महामन्त्री छन् । शशांकको साथले आफूलाई नयाँ शक्ति मिलेको पौडेलको अनुभव छ ।
आफूले जितेमा प्रकाशमान सिंहलाई उपसभापतिमा मनोनयन गर्ने उनले आश्वसन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेलले आफ्ना समर्थक र पत्रकारहरुमाझ उम्मेदवारी घोषणा गर्दा डा. रामशरण महत र डा. मीनेन्द्र रिजाल पनि सँगै थिए । सभापतिका दावेदार वरिष्ठ नेता शेरबहादुर देउवाले भने आफ्नो प्यानलको औपचारिक घोषणा बिहिबार मात्र गर्नेछन् । देउवाको प्यानलबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव उम्मेदवार हुने पक्का भएको छ । केसीले मंगलबार आफैंले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । लामो समयसम्म संस्थापन समूहमा रहेका केसी यो पटक देउवा समूहका उम्मेदवार बनेका हुन् ।
देउवाले खुमबहादुर खड्कालाई आफू सभापति भएमा उपसभापति मनोनित गर्ने आश्वासन दिएका छन् । अघिल्लो पटक महामन्त्री उठेका विमलेन्द्र निधिलाई यसपटक मनोनित महामन्त्रीको अफर गरिएको छ र उनी सहमत भएका छन् । सुरुमा उनले निर्वाचित महामन्त्री लड्न चाहेका थिए । तर, सुशील सरकारमा मन्त्री हुँदा उनको लोकप्रियता घटेको थियो । वर्तमान सह–महामन्त्री पूर्णबहादु खड्का भने आफूलाई देउवा प्यानलमा कुनै पनि पदाधिकारी नदिएका कारण रुष्ट छन् ।
प्रतिक्रिया