बाबुरामको संयोजकत्वमा नयाँ शक्ति नेपाल घोषणा

babuकाठमाडौं । एकीकृत नेकपा माओवादीबाट केही समयअघि अलग्गिएका डा. बाबुराम भट्टराईको संयोजकत्वमा आज ‘नयाँ शक्ति नेपाल’ गठनको घोषणा गरिएको छ । सो पार्टीले आज ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद्समेत सार्वजनिक गरेको छ ।

  परिषद्मा पूर्वसचिव रामेश्वर खनाल, हरेराम चौधरी, नत्थुप्रसाद चौधरी, डा प्रवीण मिश्र, एमाओवादीका पूर्व नेताहरू रामचन्द्र झा, देवेन्द्र पौडेल, कलाकार सरोज खनाल, करिश्मा मानन्धर, अशोक शर्मा, पूर्वअतिरिक्त प्रहरी महानिरीक्षकद्वय गणेशराज राई र नारायण पाण्डे, विश्लेषक मुमाराम खनाललगायत छन्  ।

 सोही कार्यक्रममा नेपाः पार्टीका अध्यक्ष पूर्वसभासद् डा केशवमान शाक्य, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य चैतन्य सुब्बा, पासाङ शेर्पा, लमर्दन कामीलगायतले आफ्नो पार्टी नयाँ शक्तिमा समाहित भएको घोषणा गरे  ।परिषद् घोषणापछि पत्रकारको प्रश्नको जवाफ दिँदै पार्टीका संयोजक डा. भट्टराईले अहिले तत्काललाई ३५ सदस्यीय केन्द्रीय परिषद् घोषणा गरिएको र पूर्णता पाउँदासम्म त्यो सङ्ख्या २६५ पुग्ने जानकारी दिए ।

 परिषद्ले केही महिनामै राष्ट्रिय भेलाको आयोजना गरी त्यसले महाधिवेशनको मिति तय गरी सोही महाधिवेशनबाट दल निर्माण प्रक्रिया टुङ्गिने उनले बताए  । नेपाली राजनीतिलाई जनउत्तरदायी, रचनात्मक, सुशासित र सद्भावपूर्ण बनाउन नयाँ शक्ति निर्माण गरिएको उनको भनाइ थियो  ।

प्रतिक्रिया

सम्बन्धित