कांग्रेस महाधिवेशनको उद्घाटन रङगशालामा
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १३ आँैं महाधिवेशनको उद्घाटन समारोह राजधानीस्थित दशरथ रङगशालामा हुने भएको छ । आउँदो फागुन २० गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनको उद्घाटन सत्र दशरथ रङगशालामा गर्नेगरी रङगशाला बुकिङ गरिसकिएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक तथा नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति भीमसेनदास प्रधानले जानकारी दिनुभयो ।
उहाँले यसअघिको १२ आँैं महाधिवेशन खुलामञ्चमा गरिएपनि यसपटक भने खुलामञ्चमा भूकम्पका कारण भत्किएका भौतिक संरचनाका अवशेष थुप्र्याइएकाले रङगशालामा गर्नुपर्ने भएको बताउनुभयो ।
रङगशालामा महाधिवेशन उद्घाटन समारोह भएपछि बन्दसत्र भने भृकुटीमण्डपमा गरिने भएकाले भृकुटीमण्डपसमेत बुकिङ गरिसकिएको समितिका संयोजक प्रधानले जानकारी दिनुभयो ।“भृकुटीमण्डपमा काँग्रेस महाधिवेशनको बन्दसत्र गर्ने भनेर बुकिङ त गरिसकिएको छ, तर त्यहाँको साउण्ड सिस्टम राम्रो नभएकाले त्यसको विकल्पको खोजी पनि भइरहेको छ”, उहाँले भन्नुभयो । नेता प्रधानले दशरथ रङशालामै राम्रो खालको टेण्ट टाँगेर गर्ने की भन्नेबारेमा पनि छलफल भइरहेको बताउनुभयो ।
यसअघि एमालेको महाधिवेशनमा पनि बन्दसत्र भृकुटीमण्डपमै भएको थियो ।आगामी फागुन २० उद्घाटन गरी २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनको तयारीका लागि विभिन्न चरणमा छलफल तथा परामर्श पनि भइरहेको व्यवस्थापन समितिका संयोजक प्रधानले बताउनुभयो । कांग्रेसको महाधिवेशनका लागि केन्द्रीय समितिले १३ वटा समिति बनाएको छ ।
प्रतिक्रिया