सभामुखमा ३८ वर्षकी ओनसरी घर्ती निर्विरोध निर्वाचित
काठमाडौं । व्यवस्थापिका संसदको सभामुखमा ओनसरी घर्ती निर्विरोध निर्वाचित भएकी छन् । घर्तीलाई एमाले, एमाओवादीसहित प्रतिपक्षी कांग्रेसले समेत समर्थन गरेपछि निर्विरोध निर्वाचित भएकी हुन । घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् ।
सभामुखमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापाले पनि उम्मेदवारी दिएकी थिइन् । तर, थापाका समर्थक प्रेम सुवालले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएकी हुन् । प्रधानमन्त्री निर्वाचनमा आफ्नै उम्मेदवार उठाएको कांग्रेसले पनि घर्तीलाई नै समर्थन गर्ने निर्णय गरेको थियो ।
रोल्पाको जंकोट १ माडिचौरमा जन्मिएकी ३८ वर्षकी घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन् । यसैगरी उपसभामुखमा राप्रपा नेपालका सभासद गंगाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया