आन्दोलनकारीलाई वार्तामा आउन पुनः आग्रह

3netaकाठमाडौँ । नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले तराईमा आन्दोलनरत दललाई आन्दोलन छाडी वार्तामा आउन पुनः आग्रह गरेका छन् । काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले  मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को पार्टी कार्यलय सानेपामा  नयाँ संविधानको सीमाङ्कन र सङ्घीयताप्रति असन्तुष्टि जनाई तराईमा आन्दोलनरत सङ्घीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलका शीर्ष नेतासँग सो आग्रह गरेका हुन  ।

   मोर्चामा मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी र मधेसी जनअधिकार फोरम गणतान्त्रिक आबद्ध रहेका छन् । तीनदलका शीर्ष नेताले मोर्चामा आबद्ध फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय मधेस समाजवादीका अध्यक्ष शरत्सिंह भण्डारी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलाई वार्ता र संवादका माध्यमबाट तराईमा उठेका मागलाई सम्बोधन गर्न आफूहरू तयार रहेको जानकारी दिएका थिए  ।

  छलफलपछि प्रधानमन्त्री कोइरालाले आफूहरू वार्ता र संवादका माध्यमबाट नयाँ संविधानमा तराई मधेस, थारु समुदाय एवम् अन्य असन्तुष्ट पक्षबाट व्यक्त असहमतिलाई सम्बोधन गर्न तयार रहेको जानकारी दिएका थिए  ।  एनेकपा माओवादीका अध्यक्ष दाहालले तीन दल र मोर्चा सहमति नजिक नजिक पुगेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए ।

  अध्यक्ष दाहालले संविधानका केही बुँदामा असहमति जनाई तराई मधेस, थारु समुदाय एवम् असन्तुष्ट पक्षले गरेका आन्दोलन अब छिट्टै अन्त्य हुने विश्वास पनि व्यक्त गरे  । एमाले अध्यक्ष ओलीले तराई मधेस एवम् थारु समुदायबाट उठाइएका जायज माग छन् भने यसलाई सम्बोधन हुने बताउँदै आन्दोलनरत पक्षहरू वार्तामा आउनेमा आफु आशावादी रहेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित