काठमाडौँः
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा तराईमा अनिश्चितकालीन बन्द जारी छ । शनिबार साँझसम्म प्रमुख दलले माग सम्बोधन गर्ने विश्वासमा रहेका उनीहरूले काठमाडौंले नसुनेको भन्दै आन्दोलन थप सशक्त बनाउने भएका छन् ।
आन्दोलनरत दलले २२ दिनको शान्तिपूर्ण आन्दोलनबाट माग सुनुवाइ नभएको निष्कर्ष निकालेका छन् । पूर्व–पश्चिम राजमार्गमा रातिको समयमा अवरोध गर्न नसक्दा काठमाडौंलाई दबाब नपुगेको निष्कर्ष उनीहरूको छ । अब रातिको समयमा पनि राजमार्ग अवरुद्ध गर्ने रणनीति उनीहरूले बनाएका छन् । मोर्चाको राजमार्गकेन्द्रित आन्दोलनको तयारीले मधेस अशान्त हुने सम्भावना छ ।
मोर्चाका नेताहरूले अबको आन्दोलन निर्णायक हुने दाबी गरेका छन् । ‘हाम्रो आन्दोलन अब राजमार्ग अवरोध गर्ने हुन्छ, राजमार्गमा टेन्ट टाँगेर रातदिन बस्छौं,’ मधेसी मोर्चाका एक नेताले भने, ‘हामीलाई थाहा छ, त्यसवेलामा सुरक्षाकर्मीले हामीमाथि दमन गर्नेछन् । हामी त्यसको प्रतिरोध गर्छौँ, त्यसले आन्दोलन नयाँ उचाइमा पुग्नेछ ।’
आइतबार राजविराजमा भेटिएका मोर्चाका एक कार्यकर्ताले पनि राजमार्ग अवरोध नै अन्तिम आन्दोलन हो भन्ने सर्कुलर रहेको जानकारी दिए । ‘हामीमाथि धेरै अन्याय भयो, हाम्रा माग सुनिएन,’ ती कार्यकर्ताले भने, ‘हामीलाई लाठीसहित घरेलु हतियार लिएर सडकमा आउनू भन्ने निर्देशन छ । हामी अब सबै सडकमा हुन्छौँ ।’
मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले शनिबार राति सप्तरीको रूपनीबजारमा स्कर्टिङमा रहेका सवारीसाधन रोक्ने प्रयास गरेका थिए । तर, प्रहरीले सप्तरीमा आन्दोलनको नेतृत्व गरिरहेका संघीय समाजवादीका जिल्ला अध्यक्ष दिनेश यादवसहित १५ जनालाई पक्रेर आइतबार बिहान छाडिदिएको रछ ।
‘हामी शान्तिपूर्ण आन्दोलनमा थियौँ,’ राजविराजमा भेटिएका दिनेश यादवले भने, ‘हाम्रो आन्दोलनको रूप फेरिन्छ । दमन भयो भने प्रतिरोध अनिवार्य छ । मोर्चाका एक नेताका अनुसार आन्दोलन अपेक्षित उठ्न नसकेकाले राजमार्ग अवरोध गरेर आन्दोलन पनि उठाउने र राज्यमाथि दबाब पनि सिर्जना गर्ने रणनीति बनेको हो । ‘राजमार्ग अवरोध गर्दा पक्कै दमन हुन्छ । दमन भयो भने आन्दोलन पनि उठ्छ,’ ती नेताले भने, ‘राजमार्ग अवरुद्ध हुँदा काठमाडौं र काठमाडौंमा रहेको राज्यमाथि दबाब पनि पुग्छ ।’ बल प्रयोग भए प्रतिरोध गर्ने तयारीसमेत गरेको नयाँपत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया