आन्दोलन टिकाउन भारत दौडाहा देखि भूमिगत समूहलाई भेट्दै

काठमाडौँः संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भदौ ७ मा झापा, विर्तामोडको सभालाई सम्बोधन गरे। लगत्तै काँकडभिट्टा हान्निए। सीमावर्ती सहर काँकडभिट्टा पुगेपछि गाडी र सरकारले सुरक्षामा खटाएको नेपाल प्रहरीका पिएसओ यतै छाडे। र, यादव सिमापारि गए। सद्भावना पार्टीका केन्द्रीय सदस्य किशोरदयाल मिश्र र रविदत्त मिश्र ४० जनाको टोलीसहित आइतबार भारतको बुटिबंगला पुगे र उत्तर प्रदेश विधानसभाका सभामुख माताप्रसाद पाण्डेलाई तराईमा जारी आन्दोलनलाई सघाउन आग्रह गर्दै ज्ञापनपत्र दिए ।

भारतीय गृहमन्त्री राजनाथ सिंह एसएसबीको पोस्ट उद्घाटन गर्न आइतबार लखनउको महाराजगन्ज, परसौनामा आउने चाल पाएपछि आन्दोलनरत मधेसी दलको एक टोली त्यहीँ पुग्यो। स्रोतका अनुसार सो टोलीले सिंहलाई भेट्न नसके पनि मधेसको माग पूरा गराउननिम्ति नेपाल सरकारलाई दबाब दिन सहयोगीमार्फत ज्ञापनपत्र बुझायो।

भदौ पहिलो साता फोरमका उपमहासचिव एवं सभासद अभिषेकप्रताप साह, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता बृजेशकुमार गुप्ता र सद्भावनाका नेता नरसिंह चौधरी सिद्धार्थनगरको नौगढमा गएर उत्तर प्रदेशका भारतीय जनता पार्टीका लोकसभा सदस्य जगदम्बिका पालसँग भेटेर फर्किए। upendra yadab

काठमाडौंकेन्द्रित आन्दोलन प्रभावकारी नभएपछि तराई फर्किएर आन्दोलनमा होमिएका फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टीलगायत दलका नेताको भारत आउजाउ ह्वात्तै बढेको छ। केन्द्रीय तहका नेता हुन् वा जिल्ला तहका, प्रायः हरेक दिन कुनै न कुनै टोली आन्दोलनमा सहयोग खोज्दै सीमावर्ती भारतीय क्षेत्र पुग्ने गरेको छ।

सुरक्षास्रोतले पाएको सूचनामा यस्तो भ्रमणको उद्देश्य स्थानीय भारतीय नेतासँगको भेट र सहयोगको मागमा मात्रै सीमित छैन, उनीहरूले भारतीय नेतासँगै नेपालमा सशस्त्र गतिविधि चलाइरहेका भूमिगत समूहका नेतृत्व र आपराधिक समूहका नाइकेसँग समेत भेटिरहेको नागरिकमा खबर छ ।

स्रोतका अनुसार भदौ पहिलो साता आन्दोलनरत दल फोरम र नेपाल सद्भावना पार्टीका नेता भारतीय सीमावर्ती क्षेत्र पुगेर तराईमा हिंसात्मक आन्दोलनमा संलग्न भूमिगत संगठनका नेता जयकृष्ण गोइत र भगत सिंहसँग भेटेर आन्दोलनबारे छलफल गरी फर्किएका छन्। सुरक्षास्रोतका अनुसार नेपाल सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झाले गोइत र फोरम नेता अभिषेकप्रताप साहले सिंहसँग भेटेर आन्दोलनमा समर्थक र कार्यकर्ता पठाउन छलफल गरेका थिए।

यसबीचमा गोइतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय राजदूतमार्फत नेपालको अखन्डविरोधी पत्र पठाएका थिए। नेपालमा भूमिगत सशस्त्र गतिविधि सुरु गरेदेखि नै भारतमा रहेका गोइतले साउन २४ मा नेपाल–भारतबीच सम्बन्ध बिगार्ने किसिमको पत्र मोदीलाई पठाएका थिए।

प्रतिक्रिया

सम्बन्धित