दोहोरो बन्दले जनजीवन प्रभावित

pokbandaविजय नेपाल/पोखरा। विभिन्न माग राख्दै आह्वान गरिएको दोहोरो बन्दले पोखरा र यसआसपासको क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । वैद्य नेतृत्वको माओवादी, जनजाति र मधेश केन्द्रित दलहरुले ६ प्रदेशको सिंमाकन तथा प्रस्तावित मस्यौदा खारेज माग गर्दै बन्द गरेका हुन् भने हिन्दू राष्ट्र संरक्षण अभियानले नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गरिनुपर्ने माग गर्दै आइतबार गण्डकी–धौलागिरि बन्द आह्वान गरेकोे हो । बन्दका कारण यस क्षेत्रमा बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् भने कलकारखाना, उद्योग, व्यवसाय, कलेज, स्कुल बन्द रहेका छन् । बन्दले पोखराको सडकमा सर्वसाधारणको उपस्थिति न्यून छ । सर्वसाधारणहरु आफ्नो गन्तब्य तर्फ हिडेर जान बाध्य भएका छन् । बन्दले पोखरा जोड्ने सिद्धार्थ, पोखरा बागलुङ राजमार्ग र पृथ्वीराजमार्गमा पनि सवारी चलेका छैनन् । मुख्य चोकचोकमा दुवै तर्फका बन्दकर्ताहरु देखिन्छन् ।

बन्दमा अप्रिय घटना हुन नदिन यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा प्रहरी तैनाथ छन् । विद्यालय जाने विद्याथीहरु बन्दका कारण स्कुल जान नपाएपछि सडकमै फुटबल तथा क्रिकेटजस्ता खेल खेलेर रमाइरहेका देखिएका छन ।बन्दमा प्रेस, एम्बुलेन्स, खानेपानीको ट्याङ्की, मानवअधिकारवादी चढेको गाडी, कुटनीतिक नियोग, पर्यटक चढेको सवारीसाधन चलेको पाइन्छ । नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्दै बन्दको समयमा पोखराको चोकचोकमा भजन कीर्तन गाएर बसेको देखिन्छ । चरणबद्ध आन्दोलनअन्तर्गत यसअघि पोखरामा शक्तिज्वाला प्रदर्शन तथा शंखघण्टसहित त्रिशुल र डमरु जुलुस प्रदर्शन गरेको थियो । यसैबीच, बन्द गराउँदै हिडेका हिन्दू राष्ट्र संरक्षण अभियानका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विशाल भट्टराई र निगम उपाध्याय रहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित