कांग्रेस नेता रामशरण महतको गाडीमा बम विस्फोट, चार जना घाइते
काठमाडौं : निर्वाचन नजिकिंदै जाँदा उम्मेदवारहरुमाथि आक्रमणको क्रम पनि बढिरहेको छ । आज पनि कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ । महतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा वम विष्फोट भएको हो। उक्त टोली माइन विस्फोटमा परेको हो । माइन विस्फोटमा परेर महतको निर्वाचन प्रचारप्रसारमा संलग्न ४ जना कार्यकर्ता घाइते भएका छन् । शुक्रबार बिहान साढे १० बजे निर्वाचन क्षेत्र नम्बर–१ स्थित ककनी गाउँपालिका–५ डाँडागाउँ सिंगारेचौरमा कांग्रेस कार्यकर्ता बोकेर चुनावी प्रचारमा निस्केको बा१६च ६६५ नम्बरको गाडी विस्फोटमा परेको हो । घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् । बम आक्रमणबाट कांग्रेस कार्यकर्ता चढेको जीपमा क्षती पुगेको छ । घाइते हुनेमा उपेन्द्र मिश्र, सबिन लामा, यशकुमार तामाङ र लीला घर्ती मगर छन् । माइन विस्फोट गराउनेको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । उक्त विष्फोट कसले गराएको भन्ने बारे आधिकारिक पुष्टि भएको छैन । यसअघि २४ कात्तिकमा विनाविभागीय मन्त्री तथा वाम गठबन्धनबाट पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेको गाडीमाथि दुई वटा बम प्रहार भएको थियो । त्यसको भोलिपल्ट माओवादी नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी माइन विष्फोट गराइयो । २६ कात्तिकमा उनीमाथि फेरि आक्रमण भयो । उनी सडकमा हिँडिरहेका बेला माथिपट्टिबाट एक समूहले ढुंगा खसाएको थियो । त्यसक्रममा प्रहरी र आक्रमणकारीबीच दोहोरो फायरिङसमेत भयो । २८ कात्तिकमा एकै दिन तीन नेतालाई लक्षित गरी बम प्रहार भयो । म्याग्दीको बेनी नगरपालिकामा कांग्रेसको चुवानी अभियानलाई लक्षित गर्दै बम विष्फोट गराइएको थियो । कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजा उक्त कार्यक्रममा सहभागी थिए । भोजपुरमा पनि एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भयो । घटनामा उनका अंगरक्षक डिल्ली देवकोटा घाइते भएका थिए । सोही दिन संखुवासभामा प्रतिनिधिसभामा एमालेका उम्मेदवार राजेन्द्र गौतमलाई पनि लक्षित गरी विस्फोट गराइयो । ३० कात्तिकमा सिँचाइ राज्यमन्त्री अमरसिंह पुन र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट गराइयो । पुन रोल्पाबाट कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार हुन् भने श्रेष्ठ गोरखा–२ का । घटनामा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परे पनि प्रहरीले आक्रमणकारी समूहको पत्तो लगाउन सकेको छैन ।यद्यपि अहिलेसम्मको घटनालाई हेर्ने हो भने नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नै निर्वाचन भाँड्न आपराधिक कृयाकलाप गर्दै आएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया