प्रचण्डको रोदनः पार्टी सिद्धियो, अस्तित्व नै विलिन हुने डर
काठमाडौंः एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सिद्धिएको बताएका छन् । गुट, उपगुटका कारण आफ्नो पार्टी समाप्त भएको उनले स्वीकार गरे ।
कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर श्रेष्ठको द्वितिय स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो दुखेसा पोखेका हुन् । अध्यक्ष प्रचण्डले पार्टी गुटै गुट र गुटभित्रको उपगुटको समस्याले थलिएको दोहोर्याए । पार्टी संगठन, सक्रियता, पद्धति र शैलीका कारण निकै संकटमा परेको उनले बताए ।
पार्टी रुपान्तरणका लागि आफू तयार भए पनि केही नेता रुपान्तरण हुन नचाहँदा पार्टीले गति लिन नसकेको दावी उनले गरे । रुपान्तरण हुन नचाहने नेता को हो भनेर प्रचण्डले किटान नगरे पनि उनको भनाइ दुई नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठप्रति लक्षित थियो ।
अब पार्टीलाई रुपान्तर, पुनःगठन गरेर आगामी आन्दोलनको नेतृत्व लिनुपर्ने धारणा उनले व्यक्त गरे । पार्टीलाई रुपान्तरण नगरी यथास्थितिमा राखे केही वर्षपछि एमाओवादी पार्टीको अस्तित्व नै नरहने दावी प्रचण्डले गरे ।
प्रतिक्रिया