काठमाडौं । भूकम्पपछि सरकारले गठन गरेको पुर्ननिर्माण प्राधिकरणको सिइओ हुन २० भन्दा बढी प्रतिस्पर्धामा छन् । जसमा कर्मचारीदेखि, नेता, बैंकर्स तथा जर्नेलहरुसम्म छन् । मन्त्रीसरहको सुविधा हुने र कम्तीमा चार वर्षसम्म पदमा बस्न पाइने भएकाले अहिले धेरै पहुँचवालाहरुले उक्त पद ताकेका छन् । कांग्रेस, एमालेका नेताहरुले समेत पदमा आँखा लगाएका छन् ।
आगामी महिना अवकाश पाउन लागेका मुख्यसचिव लिलामणि पौडेलले समेत उक्त पदका लागि प्रधानमन्त्री सुशील कोइरालासँग इच्छा देखाइसकेका छन् । त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्द पोखरेल पनि प्राधिकरणको सिइओ बन्न कोइरालाकै भरमा छन् । पूर्व मुख्यसचिव तथा चुनावी सरकारका गृहमन्त्री भएका माधव घिमिरे सिईओका अर्का दाबेदार हुन् । त्यस्तै पूर्वरथी पवन पाण्डेसमेत सिईओ हुन लबिङमा लागेका छन् । नेपाल बंगलादेश बैंकका सिईओ ज्ञानेन्द्र ढुङगाना प्राधिकरणका अर्का आकांक्षी हुन् । उनी एनबी ग्रुपका फरार अभियुक्त जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको हनुमान समेत हुन् ।
देशका धेरै पावरफूल व्यक्तिहरु प्र्राधिकरणमा नियुक्त हुने प्रतिस्पर्धामा छन् । तर कांग्रेस, एमाले र माओवादीलाई नै रुचाएका व्यक्ति मात्र सिईओ हुने अवस्था रहेको स्रोत बताउँछ । सोही प्राधिकरणमार्फत नै ५ खर्ब भन्दा धेरै रकम खर्च हुने भएकाले उक्त पदमा नेताहरुको समेत ठूलो चासो छ ।
मुख्यसचिवमा को ?
प्राधिकरणको सिईओ छनोट मात्र होइन मुख्यसचिव बढुवाका लागि पनि यतिबेला दौडाहा सुरु भएको छ । मुख्यसचिव लिलामणि पौडेलले तीन हप्तापछि अवकाश पाउँदैछन् । तर सरकारले नयाँ मुख्यसचिव नियुक्त गर्न नसक्दा उनले बिदा बस्न पाएका छैनन् । मुख्यसचिवको प्रतिस्पर्धामा सोमलाल सुवेदी र जयमुकुन्द खनाल देखिए पनि अन्य सचिवहरु समेत भित्री खेलमा लागेका छन् । श्रीधर गौतम पनि लबिङमा छन् । त्यस्तै बिश्वप्रकाश पण्डित लगायतका जुनियर सचिवहरु समेत श्रीधरलाई मुख्य सचिव बनाउन रानजीतिक दलका नेताहरुको घरमा धाउन थालेका छन् ।
प्रतिक्रिया