भूकम्प पीडितको सुन्दर र बलियो घर बन्छः प्रम कोइराला

काठमाडौँः प्रधानमन्त्री सुशील कोइरालाले सबै भूकम्प पीडितको सुन्दर र बलियो घर बन्न सकोस् भनेर आफू लागिरहेको बताउनु भएको छ । उहाँले सो कुरा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसंग बताउनु भएको हो । “पहाडको कन्दरामा साना झोपडी थिए,” प्रधानमन्त्रीले भन्नुभयो,“ ती पनि भूकम्पले ध्वस्त भए । हरेक पीडित परिवारको एक राम्रो र सस्टेनेबल घर होस् भनेर लागेको छु ।” उहाँले अब बस्ती विकास गर्दा सडक,विद्युत,पानी,ढल,सार्वजनिक उद्यान, स्वास्थ्य केन्द्र, विद्यालय जस्ता भौतिक र सामाजिक सेवाका पूर्वाधारहरु तयार पारिने पनि बताउनु भयो । सो अवसरमा उहाँले कोषमा रहेको रकम राहत,पुनस्थापना,पुनर्निर्माणमा लगाइने बताउदै सबैले पेट काटेर दिएको रकम दुरुपयोग हुन नदिने बताउनु भयो । उहाँले दाताहरुलाई पनि आफूले दिएको रकम दुरुपयोग नहोस भनेर निगरानी गर्न आग्रह गर्नुभयो । उहाँले यति ठूलो विपद्को नेपाली जनताले जसरी मिलेर सामना गरे त्यसको विदेशीहरुले पनि प्रशंसा गरेको बताउनु भयो ।Manpower rahat सो अवसरमा संविधान निर्माण प्रकृयामा गएकोमा सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले नमिलेका कुराहरु समयानुकूल संशोधन हुने बताउनु भयो । प्रधानमन्त्री कोइरालाले संविधान निर्माण भएर जारी भएपछि नेपालमा राजनीतिक स्थिरता कायम हुने बताउदै शान्ति र स्थायित्वको वातावरणमा विकासले गति लिने बताउनुभयो । उहाँले नेपाल लगानीको लागि अनुकूल हुँदै गैरहेको पनि उल्लेख गर्नुभयो । उहाँले विदेशिएका नेपालीहरुले साह्रै दुःख पाएको उल्लेख गर्दै नेपालमा नै रोजगारीको सिर्जना गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा अब छिट्टै आर्थिक परिवर्तन हुने पनि उल्लेख गर्नुभयो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा भूकम्प पीडितहरुको राहत र पुनस्थापनालाई सघाउन वैदेशिक रोजगार व्यवसायी संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८८ लाख ५ सय २९रुपैया ११ पैसा सहयोग प्रदान गरेको छ । सो रकमको चेक संघका अध्यक्ष हंशराज वाग्लेले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा श्रमराज्य मन्त्री टेकबहादुर गुरुङ्ग,वैदेशिक रोजगार व्यवसायीहरु नरेश गेलाल,एल.पी.साँवा, प्रेम कटुवाल, किरणकिशोर घिमिरे,भरत खड्का,सरोज पोखरेल, एम.एस काप्री,समशेर बहादुर गुरुङ्ग र डी.बी.मगरको उपस्थिति रहेको थियो । भूकम्प पीडित नेपालीहरुको सहयोगार्थ असम भारतको गुवाहाटीमा रहेका नेपाली दुग्ध व्यवसायीहरुले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरेका छन । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली मन्दिर प्रबन्धक समिति एवं बृहत्तर गुवाहाटी दुग्ध व्यवसायी संस्था गुवाहाटी असमका सभापतिले ७ लाख २१ हजार रुपैयाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । भूकम्प पीडित नेपालीहरुको सहयोगको लागि अमेरिकाको व्योमिङ्गस्थित व्योमिङ्ग विश्वविद्यालयका नेपालका मित्रहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १७ हजार ५ सय १० रुपैया प्रदान गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित