काठमाडौं । छोराका लागि भुवन केसीले निर्माण गरेको फिल्म ‘कृ’लाई चोरीको आरोप लागेको छ । भुवन केसीले छोरा अनमोलका लागि निर्माण गरेको फिल्म ‘कृ’को ट्रेलरमा बलिउड फिल्म ‘डन २’को संवादमा राखिएको भनेर चर्चा सुरु भएको छ ।
कहिले अनमोल केसीको पारिश्रमिक त कहिले अनमोलले ज्यान बनाउन गरेको मिहिनेतको हल्लाले ‘कृ’ वर्षकै सबैभन्दा बढी हल्लीखल्ली भएको फिल्म बनेको छ । हल्ला अनुसार फिल्मको ट्रेलर पनि सबैले दमदार अपेक्षा गरेका थिए ।
ट्रेलर दमदार नै छ तर सँगसँगै यसलाई नक्कलको आरोप पनि लागेको छ । सार्वजनिक भएसँगै भाइरल भएको ट्रेलरलाई धेरैले बलिउड फिल्म ‘डन २’को नक्कल भएको भनी आलोचना गरेका छन् । फिल्ममा शाहरुखले हिन्दी भाषामा बोलेको संवादलाई अनमोलले नेपालीमा हुबहु उल्था गरेर बोलेका छन् ।
अनमोललाई चोरीको आरोप लागेको पहिलो घटना भने होइन । ‘जेरी’लाई पोस्टर चोरीको आरोप लागेको थियो भने ‘ड्रिम्स’मा कथावस्तु नै अंग्रेजी फिल्मबाट उडाइएको थियो । ‘गाजलु’को दोस्रो हाफ चेतन भगतको उपन्यासबाट प्रभावित मानिएको थियो । एउटा फिल्म खेल्न ५० लाखसम्म पाउन थालेका अनमोलले पाएको अलिकति पैसा मौलिक कुरा सोच्नेलाई पनि छुट्याउने हो कि ?
प्रतिक्रिया