मेलमिलाप दिवसकै दिन कांग्रेसमा भाँडभैलो

काठमाडौं : नेपाली कांग्रेसले हरेक वर्ष झै यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको सन्देश लिएर प्रवासी जीवन त्यागेर भारतबाट नेपाल आएको सम्झनामा राष्ट्रिय मेलमिलाप दिवस मनाउने चलन छ । ८ वर्ष प्रवास बसेर देशभित्रका समस्याको समाधान सार्वभौम जनताबाट नै गरिनुपर्दछ भन्ने उद्धेश्य बोकेर आफ्नो ज्यानको बाजी लगाएर गणेशमान सिंह, शैलजा आचार्य लगायतसँग नेपाल आएका बीपीको उद्देश्य पूरा हुन नदिई उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै तत्कालीन सुन्दरीजल बन्दीगृहमा पुर्याइएको थियो । बीपी जेल परे पनि मेलमिलापको ढोका भने खुल्यो । बीपी २०३९ सालमा बिते । काँग्रेसले हरेक वर्ष पुस १६ गते देशव्यापीरूपमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । तर, मेलमिलाप दिवसकै दिन नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा भने विवाद तीव्र बनेको छ । अध्यक्ष नैनसिंह महराले संघलाई एकलौटी ढंगबाट अघि बढाएको भन्दै असन्तुष्ट पक्षले आइतबार समानान्तर कार्यक्रम गरेपछि विवाद बाहिर देखिएको हो । ४१ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा केन्द्रीय समितिले राजधानीको राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरेकै समयमा असन्तुष्ट पक्षले काठमाडौं जिल्ला समितिको आयोजनामा त्रिचन्द्र क्याम्पसमा छुट्टै कार्यक्रम गरेको छ । केन्द्रीय समितिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएको थियो भने असन्तुष्ट पक्षले पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई प्रमुख अतिथि बनाएको थियो । संघका असन्तुष्ट पक्षले बलियो कांग्रेसका लागि सशक्त नेविसंघ’ आवश्यक रहेको भन्दै अहिलेको नेतृत्वले सबैलाई समेट्न नसकेको आरोप लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित