अाज दिनभरि पानी पर्ने, पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर
काठमाडौं । लामो समयपछि बुधबार विहानैदेखि वर्षा भइरहेको छ । बुधबार बिहान काठमाडौं, पोखरा, दिपालय लगायतमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् विभूती पोखरेलले बुधबार दिनभरि नै वर्षा हुने जानकारी दिइन् । उनले भनिन्, ‘यो पश्चिमी वायू भएकाले साँझसम्म यो पूर्वतिर जानेछ, आज दिनभरि नै वर्षा हुनेछ ।’
लामो समयपछि वर्षा हुँदा भने धेरैले राहत महसुस गरेका छन् । यो हिउँदको पहिलो वर्षा हो । खडेरीका कारण काठमाडौं उपत्यकाको प्रदूषणसमेत बढेको छ ।
मंगलबारसम्म पानी पर्ने खासै लक्षण नदेखिएको भएपनि बुधबार बिहान एक्कासी पानी पर्दा धेरैको बिजोग भएको छ । पानी पर्दा घर बाहिर निस्कनेहरुलाई समस्या परेको छ । पानी पर्न थालेसँगै राजधानीमा चिसो पनि बढेको छ । कतिपयले घरबाट निस्कँदा छाता र रेनकोट बोक्न भ्याए पनि अधिकांश भने भिजेको देखियो । मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावका कारण बुधबार दिनभर नै बदली हुनेछ । पश्चिमी जिल्लाहरुमा बढी पानी परे पनि काठमाडौं उपत्यकामा कम पानी पर्ने बताइएको छ ।
यसैबीच डडेल्धुरालगायत प्रदेश नम्बर ७ का पहाडी जिल्लाहरुमा हिमपात भएको छ । ७ नम्बर प्रदेशका बैतडी, बझाङ, डोटी, बाजुरा, दार्चुला लगायतका जिल्लाका उच्च भेगमा हिमपात भएसँगै अत्यधिक चिसो बढेको छ ।
गएराति पानी परेसँगै बिहानदेखि हिमपात सुरु भएको हो । डडेल्धुरा सदरमुकाममा बुधबार बिहान ५ बजेदेखि हिमपात सुरु भएको छ । उच्च लेकाली भागमा रातिदेखि नै हिमपात जारी छ । एक्कासी बढेको चिसोका कारण वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।
लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले धेरै राहत पुर्याएको छ । बाक्लो हिउँले गाउँघर सेताम्य बनेपछि किसानहरु बालिनाली सप्रिने आशले खुसी भएका छन् ।
प्रतिक्रिया