जोखिमपूर्ण पर्यटकीय स्थलमा अब पर्यटकीय प्रहरी परिचालन गरिने
काठमाडौं । प्रहरी महानिरीक्षक (अाइजीपी )प्रकाश अर्यालले नेपालका जोखिमपूर्ण पर्यटकीय गन्तव्य स्थलमा समेत पर्यटकीय प्रहरी परिचालन गर्न आवश्यक रहेको वताएका छन् । ३९ औं पर्यटक प्रहरी दिवसका अवसरमा पर्यटन विभाग भृकुटीमण्डपमा बोल्दै उनले भने- ' जोखिमपूर्ण पर्यटकीय गन्तव्यमा पर्यटकहरु हराउने र दुर्घटनामा पर्ने उच्च सम्भावाना भएकोले त्यस्ता स्थानमा समेत पर्यटकीय प्रहरी परिचालन गर्न आवश्यक छ ।'
पर्यटन देशको विकास तथा पूर्वाधारको मेरुदण्ड भएकोले संख्यात्मक भन्दा गुणात्मक पर्यटक भित्र्याउनु पर्नेमा जोड दिँदै पर्यटक प्रहरीले मात्र नभई सम्पूर्ण प्रहरीले पर्यटकको सुरक्षा,सहयोग र समन्वयको कार्य गर्दै आएको अाइजीपी अर्यालले उल्लेख गरे ।
पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्यटन प्रहरी इकाई भृकुटीमण्डपकी प्रमुख प्रहरी निरीक्षक रुपा थापाले इकाईले गर्दै आएको काम कारबाही तथा आगामी कार्य योजनाका विषयमा प्रस्तुतिकरण गरेकी थिइन ।
कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक, ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपालका प्रमुख, माउन्टेरिङ एशोसिएसनका अध्यक्ष, प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया