उम्मेदवारीपछि कार्ड बनाएको खुलेपछि एमाले उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली सोमबार प्रकाशन हुँदैछ । निर्वाचन आयोगका अनुसार माघ २४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सोमबार सार्वजनिक हुने भएको हो । आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएकामा उजुरी गर्न समय दिइएको समयपछि छानबिन पश्चात अन्तिम नामावली प्रकाशन गर्न लागिएको जनाएको छ ।

आयोगका अनुसार विभिन्न उजुरी परेका भए पनि १ जनाको मात्रै उम्मेदवारी खारेज हुने भएको छ । प्रदेश नम्बर ४ को अपांग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका एमालेका रामबहादुर थापाको मात्र उम्मेदवारी खारेज भएको हो । थापाले पेश गरेको अपाङ्गताको प्रमाणपत्र उम्मेदवारी दर्तापछि मात्रै बनाएको भनी उजुरी परेको थियो । छानविन पश्चात आयोगले शनिबार थापाको उम्मेदवारी खारेज गरेको छ । थापाले २७ असार २०६२ मै अपाङ्गताको परीचयपत्र लिएका थिए । तर, नयाँ निर्देशिका अनुसार नयाँ परिचय पत्र बनाएका रहेनछन् ।

थापाले मनोनयनपत्र साथ पेश गरेको अपाङ्गताको परिचयपत्र अपाङ्ग परिचयपत्र वितरण निर्देशिका, २०५७ बमोजिम भएको तर त्यसलाई नेपाल सरकारले खारेज गरी अर्को निर्देशिका २०६५ मा जारी गरेको थियो ।

उम्मेदवार थापाले माघ १० गते उम्मेदवारी दर्ता गरेपछि माघ १२ गते नयाँ अपाङ्गताको प्रमाणपत्र बनाएर पेश गरेका थिए । पूर्वनिर्धारित कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागेको आयोगले उम्मेदवारी फिर्ताका लागि आइतबार दिउँसो १ देखि सोमबार दिउँसो २ बजेसम्मको समय दिएको छ । यो बीचमा इच्छुक उम्मेदवारले उम्मेदवारी फिर्ता सक्नेछन् । सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित